धनगढी। सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (आइतबार) मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिइएको बताए ।
उनका अनुसार भौतिक फुटाएर बनाइएको मन्त्रालयमा नेकपा (माओवादी केन्द्र) का अक्कल रावललाई जनस्रोत तथा सहरी, नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै गरेर सामाजिक फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले) का वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ । एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । ती मध्ये यी ५ जनाले जिम्मेवारी पाएका थिएनन् । यसअघि एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिला र जेठ ६ मा उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार र जेठ १८ टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको थियो ।