जनपक्षीय पत्रकारितामा कृष्ण सेन इच्छुक

 नरेन्द्रजंग पिटर

कवि, पत्रकार कृष्ण सेनलाई भृकुटी मण्डप पुलिस क्लबमा हत्या गरिएको पनि  निश्चित समयमा शब्दले भूमिका निभाएर प्रतीक वा बिम्ब बनेको हुन्छ । नेपाली पत्रकारितामा मात्रै हैन राजनीतिको तुफानी परिवर्तनको याममा जनादेश शब्द पत्रिका नाम मात्रै नभै जनयुद्धको प्रवक्ता पनि बनेको थियो ।

कवि थिए, साहित्यकार थिए, सोचलाई भूमिकामा उतार्ने एक्टिभिष्ट थिए । सेनजीले साहित्यक पत्रिका कलमको पनि सम्पादन गरे । तर बहुआयमिक व्यक्तित्वका धनी सेनजीलाई जनादेशको सम्पादक भनेर देश र दुनियाले ज्यादा चिन्यो । जनादेश पत्रिका मात्रै हैन् आन्दोलनको मुखपत्र बन्यो । बिद्रोह र क्रान्तिको मशाल बन्यो । नेपालको सन्र्दभमा जनादेश एउटा शब्द मात्र रहेन कमजोर, स्वप्नद्रष्टा, र क्रान्तिकारीको आत्मिक उर्जा बन्यो भने परिवर्तन विरोधी, यथास्थिति चाहने, प्रतिकृयावाद र पश्चगमनमा रमाउनेकालागी आतंक ।

समयसंगै राजनीतिका चरित्र, आन्दोलनका रुप, मिडियाका भास्य, नायक र खलनायकका परिभाषा, सौन्र्दयको मानक सवै फेरिए । कतिपय नायक खलनायकमा फेरिए भने कतिपयि दुश्मनलाई मित्र मान्नुपर्ने विवसता पनि आए । सेनकालीन जनादेशले अहिले पहिलाकै गरिमा धान्न सक्थ्यो कि सक्दैनथ्यो ! बहस हुँन सक्छ  । बुजुर्वा आदर्शमै टिकेका संसारमा धेरै मिडिया पनि छन । संसारकै श्रेष्ठ पब्लिक इन्टिलेक्चल नोम चोम्स्की मेक्सिकोको ला जार्नेडालाई  उत्तम पत्रिका  भन्दछन ।

लास बोकेर इतिहासका व्याज खानेका लागी सेन आतंक हुन ।  आदर्श त्याग गर्ने र आदर्शको व्याज खाँदै  हिजाका कथाबाचकहरुलाई  सेन आतंक हुन । सेन आतंक हुँन– त्याग त्यागेर त्यागी देखिनका लागी । मानवसभ्यताका नायकहरूमा सेन पहिलो पनि हैनन् अन्तिम पनि रहनेछैनन् । सेन त अव विद्रोहको नेपाली कर्ममा उत्रिने बौद्धिकहरुका मशाल बनिसके । तत्कालीन राजनीतिक र धार्मिक सत्ता र शक्तिसँग हाकाहाकी आँखा जुधाएर बोलेर र लेखेर ज्यान जोखिम मोल्ने धेरै भए । लिखित इतिहासमा त्यो परम्परा सुकरातको हलाहल विषपान बाट भयो । प्लेटो मण्डिमा बेचिए । कोपरनिकस, ग्यालिलियो र जियोड्रानो ब्रुनोहरुको लामो सूची छ ।

सत्ता यथास्थिति खजबज्याउन दिँदैन, समाज यथास्थितिमा रहन चाहँदैन । समाजको सपना र युगको हुटहुटी कवि, दार्शनिक र क्रान्तिकारीहरूले वाणी दिन्छन । तव हरेक सत्तालाई, विद्रोही, दुष्ट, अधार्मिक, राजद्रोही भनिएर मारिन्छन । जेलमा सडाइन्छ । तर उनीहरूकै काँध चढेर युगले कोल्टे फेरिरहेको, सभ्यताको विकास भैरहेको, मुर्दासमाज जाग्राम भैरहेको हुन्छ । कृष्ण सेन इच्छुक नेपालको सन्दर्भमा मकैका खेती लेख्ने कृष्णलाल अधिकारी र साप्ताहिक हाँकका सम्पादक शोभाकर धनञ्जयका पछिल्लो संस्करण हुन । मूल्यभुक्तान नगर्ने तर आर्दश गफाडीका गफ स्वकर्म भन्नेलाई चेतावनी दिने नायक हुन ।

अहिले अवस्था फेरियो । सबैकुराको निर्णय राजनीतिले गर्छ । राजनीतिका चरित्र फेरिएसँगै जनादेश र नेपाली पत्रकारिताका रूप, गुण, अवस्था, मर्म र परिभाषा पनि फेरिएको सन्दर्भमा सेनकालीन जनादेशको आदर्श टिक्न सक्दैनथ्यो । तर बुर्जुवा आदर्श भित्र पनि सेनचरित्र त नियमित हुन सक्थ्यो । माओवादी भित्रका जनयुद्धकालीन र शान्तिकालीन अन्तरविरोध जनादेशका सम्पादक र सम्पादकीय समूहमा आउने हेरफेरले अद्यार्थीलाई बुझन अझ सहज होला ।

कृष्ण सेन इच्छुकको सङ्क्षिप्त जीवनी  

कृष्णसेन इच्छुकको जन्म यमबहादुर सेन ( भारतीय सेनामा जागिरे, बुबा ), भीमकुमारीको (आमा) कोखबाट भारतको देहरादुनमा २०१३ कार्तिक ३ मा भएको हो  । उनको ६ वर्षसम्मको बाल्यकाल भारतका विभिन्न ठाउँमा बिते । उनको पुर्ख्यौली घर प्यूठान जिल्लाको साराङकोटबाट अर्घाखाँचीको जलुके, सातमारामा बसाइ सरेको होे ।                                                                 

 सेन केही समय दाङ कोइलाबासको साल्ट ट्रेडिङमा जागिरे पनि भए ।  पहिलोपटक २०३६ सालको विद्यार्थी आन्दोलनमा गिरफ्तार परे  । जेलबाट छुटेपछि  दाङको महेन्द्र  क्याम्पसमा पढ्दा विद्यार्थी आन्दोलनमा सक्रिय भए ।  २०३९ सालमा पुनः पक्राउ परे । साढे ५ वर्ष जेल जीवनबाट २०४४ सालमा मात्र जेलबाट छुटे । उनको समग्र जेलजीवन १० वर्षभन्दा धेरै रहेको छ ।

उनले २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए । २०३७ सालदेखि  दाङमा विद्यार्थी आन्दोलनको नेतृत्व गरे । २०४५ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक बने । २०४६ सालमा  कम्युनिष्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय ब्युरोको सेक्रेटरी बने । पछि  संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य बने । साथै  अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष, प्रगतिशील लेखक सङ्घका केन्द्रीय पार्षद्, पत्रकार महासङ्घका पार्षद्, दक्षिण एसियाली पत्रकार सङ्घका सदस्य, जनअधिकार सरोकार अभियानका सदस्यसमेत भए ।

उनका साहित्यिक कृतीहरुमा शोकाञ्जलि (२०४८) इतिहासको यस घडीमा (२०५६) बन्दी र चन्द्रागिरी (२०५८) पर्खालभित्रका बन्द आवाजहरु रहेका छन । जेल सेनको जीवनको अभिन्नअङ्ग रह्यो । उनी ०३९ देखि ०४४ सालसम्म दाङ कारावासमा छ वर्ष, ०५६ सालमा काठमाडौंको भद्रबन्दी गृहमा १ वर्ष र सिराहा तथा राजविराजमा २ वर्ष गरी नौ वर्षसम्म जेल बसे । सङ्कटकालका बेला ०५९ साल जेठ ६ गते काठमाडौँबाट गिरफतार गरिएका सेनको ७ दिनपछि अर्थात् जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरमयातनाका कारण ४६ वर्षमै मृत्यु भयो ।  उनको जीवन साथी तक्मा केसी र छोरी समीक्षा केसी रहेका छन। 

सेन प्रति समर्पित                                                                                       

(सेनको पूर्वसाथी प्रसंग एक)                                                              

उसले अझ अज्ञेयवाचन सुनायोः देश मरिरहेको छ, तिमी भने जिँउदै छौ !

– हो, म ज्युँदै छु । यस रङ्गमञ्चको एउटा द्रष्टा हुँ । लालदासको सन्तान हुँ ।

तिघ्रे हुँ । पाखुरे हुँ । मालिकका हुकुममा जहाँ पनि बज्रन सक्ने,

जिन्दावाद र मुर्दावाद भन्दै भविष्यको राजनीतिक इन्सुरेन्स गर्छु ।

हो, म गर्वसाथ भन्छु –म लालमन्डले । अक्करमा ठक्कर दिन्छु ।

गाली शास्त्रमा पिएचडी गरेको छु । एउटै स्टाइलिसले  खुत्रुक्कै पारिदिन्छु ।

सामथ्र्य त हेर –नदीको वहाव छेकिदिन सक्छु, समुन्द्रलाइ टक्क रोकिई भनेर हुकुम दिनसक्छु ।

बगेको हावा मोडिदिन सक्छु, हिमालय पर्वतलाई होच्याइँदिन सक्छु ।                                                         

(सेनको पूर्वपाठक)

 कविसँग  धेरै गुनासा छन । अव त कविता पटक्कै पढदिन । कविताले सपना लेखाउँछ । सपनाले घिच्याउन थाल्यो भने मान्छे बोलाउँछ । सोच्ने गर्छ । मलाई सोचले टोक्न थाल्या छ । संसारका कविहरू सबैले मान्छे बिगार्छन्, दार्शनिकले जस्तै । सपनामा बाँच्छन् । आफ्नु यह लोकलाइ ध्वस्त गराएर  परलोक पनि नसुधार्ने  दुःखी आत्मा –तिमी कविता लेख्दै गर, म मृत्युभोजलाइ पनि रंङ्गिन र रसिक बनाउने अव हैसियत राख्छु । म त आफ्नै तावुतको पनि अन्तिम किला ठोक्न सक्ने महाबाहदुर पो हुँ । म अब कविता पढने लेख्ने गर्दिन, पौरखी भँए् । कब्जा अभियानको योद्दामात्रै हैन म जिँउदो सहिद पनि हुँ ।

नाफाको जिन्दगीको अर्थ के हो ? थाहा छ ?  हो, अव तिमी भन्न सक्छौ मलाई –लालमन्डलेनै । बिहानै उठेर टाउकोबाट दिमाग सर्लक्क निकालेर दराजमा राख्छु र बेलुका फर्केपछि मात्रै दिमाग टाउकोमा घुसार्छु । सधै दिमाग, चेतना, संवेदनशीलता र सपना बोकेर हिड्ने कवि जस्तो म दुखियारा बन्न चाहन्न, कवि । हो सेन…. मान्छे त हो । मन र मस्तिष्क ज्यादै अराजक । जीवनका मज्जा पनि थरीथरीका । पछिल्लो समयमा मलाई “विगार्ने“ मध्य तिमी पनि  एक “पापी“ । 

तिमीले मानवजातिको, मेरो नांगो  इतिहास सम्झाई रहेउ ।  हरेक भेटमा मेरा स्वाभिमान र जीवनयात्राका पाना पल्टाइ दियौँ ।  घायल आदर्श, टुटेका सपना, अक्षमताका जीवन गाथाले जव टोक्न थाल्थे तव ठिङ्ग तिमी अगाडि आएर ललकाथ्र्यौ । झल्याँस्स हुन्थेँ  । अनि म, मै त हुँ भनेर आफैलाई सोध्थे र जिँउदै त छु भनेर जिउ छाम्थे । 

चित्त बुझाउने धेरै तर्क हुन्छन । धेरै मान्छेका डिप्रेसनका ओखती अरूलाई गाली गर्नु र प्रतिकृयामा रमाउनु हुन्थ्यो । अवचेतन मस्तिष्कको हार्ड ड्राइभबाट फोल्डर खुलेपछि म अफुलाइ, मान्छे भित्रको जागृत मानव खोज्दथे । हो त्यसैबेला तिम्रा छाँया ठिंग उििभन्थे । अव समयसंगै म पनि फेरिए । हाे जेठ १३ गते म पनि सराद्दे भने तिम्रो गर्ने गर्छु ।”

विस्मृतिको गर्भमा रहेको सयहोद्दाका चित्कार सेन जी, समयसँगै संगत, भूमिका चाहाना र नजरिया फेरिएपछि अब स्वप्नद्रष्टासंगै सपना पनि फेरिए । ओस्कार वाइल्डको भनाई फेरी याद आयो –समाजले अक्सर अपराधीलाई माफ गर्छ तर स्वप्नद्रष्टालाई भने कहिल्यै माफ गर्दैन ।” आज म नोस्टाल्जियाले सताइएको छु । संसद्को पुनःस्थापना २०६३ वैशाख ११ गते भयो । परिस्थिति छिनछिनमै फेरिँदै गयो । अवस्था संवेदनशील भएकाले ढुक्क हुने सकिँदैनथ्यो । १२ गते सम्झिएँ, “म एकाएक ‘आतङ्ककारी’ बाट नागरिकमा फेरिएको थिए ।                             

अब के गर्ने ?” रनभुल्लमा पर्यौँ, हामी खुला समाजमा देखियौं, फेरियौँ । सामाजिक अन्तरघुलन हुन गाह्रो पर्यो । भद्रगोलकै अवस्था रह्यो । युद्धका मोर्चाहरू फेरिए ।  के गर्ने, के नगर्ने अवस्थामा पुगे । एउटा डरको अन्त र अर्कोको सुरुआत भयो । डर भन्ने जिनिस पनि यस्तो रहेछ कि, डर देखाउने, खेद्ने, तर्साउने, लखेट्नेदेखि डराउन छोड्यो भने डर देखाउनेहरू नै डराउन थाल्दा रहेछन् । सरकार मात्रै हैन, सत्ताको चित्र र चरित्र नै फेरिइसकेको थियो । समाजको हरेक पक्षले प्रभावित बनेर फरक धारणा बनाइसकेको थियो । समरयात्राबाट सार्वजनिक जीवनमा फर्कँदा नयाँ संसारमा आएझैं लाग्यो । त्यो आशा, सपना, विश्वास, आकाङ्क्षा, प्रतिबद्धता र दायित्व फेरिए झैं लाग्यो । म सार्वजनिक जीवनमा चर्चित भएपनि पदीय रूपमा सामान्य थिएँ । खुला रहेर भूमिगत जीवनमा सक्रिय भएको थलोमा भूमिगत जिन्दगीबाट खुला हुनु पर्दा एउटा महाभारत फत्ते गरेर फर्के झैँ लाग्यो ।

महत्त्वाकाङ्क्क्षाा त नयाँ अवस्थाको चालकशक्ति हुन्छ नै । नयाँ सन्दर्भ, भिन्न परिवेश थियो । शब्दहरूका अर्थ, मित्र र दुश्मनका परिभाषा फेरिए । जटिल र ‘रहस्यमय’ शैलीलाई सरल–सहज बनाउँदै जानु आवश्यक भयो । विचारविहीन कलाबाजसँग भिड्ने कला सहितको विचार  आवश्यक थियो । वैचारिक र व्यावहारिक उपलब्धीलाई विपक्ष एकथोपा रगत नबगाईकन, एउटै गोली नपड्काए तहसनहस र ध्वस्त पार्न चाहन्थ्यो । गोलीको लडाइँ बोलीले लिँदा ‘मैदान–ए–जङ्ग’ टेबल सङ्घर्षर्मा फेरिएका थिए ।

विद्रोहका राप र ताप सेलाँउदैजाँदा आफ्नै गौरवता बोझ हामीलाई गह्रुंगो हुँदै गयो । स्वत्व र अहङ्कारका द्वन्दमा समीक्षा नै नभएको जनयुद्ध विचारका आवरणमा फुटदै गए । खोला अर्को पटक तर्न सकिँदैन, इतिहास पनि कहिल्यै दोहोरिँदैन तर नसम्झनेलाई भने सधैँ सम्झाइरहन्छ । इतिहास यात्रा भावना र आवेगमा नभई सामाजिक अन्तरविरोधले पैदा गरेका निकासहरूका आधारमा हुन्छ । सामाजिक परिवर्तन नाङ्गा आँखाले हैन, दृष्टिले मात्रै देख्न सकिन्छ । रैतीबाट प्रजा बनेका नेपालीलाई नागरिक बनाउने मुख्य आन्दोलन त माओवादी नै हो । तिमीले त मूल्य तिरेका थियो । बाँचेर बाच्न औधी कठिन हुँदो रहेछ  । पक्कै हो, परिवर्तन हेरफेर बेगर हुन सक्दैन । तर जसले आफ्नै सोच फेर्न ,समयानुकूल बनाउन सक्दैनन्, तिनीहरूले केही पनि फेर्न सक्दैनन् । बुझ्नु र बदल्नु फरक विषय रहेछ  । धेरै आशा र अपेक्षाका कारण नै दुःख बेसाइन्छ । त्यसमा पनि अतृप्त वासनाले आफैंलाई जलाएर कुण्ठाले लतारिरहेका हुँदो पनि रहेछ । 

एउटा जादेशको तिम्रो संवाददाता समाचारको आयुः म जनादेश र सेनलाई नै लेख्दै छु । सेन… तिम्रो भनाई थियो नी– लेख्नका लागी लड, लडनकालागी लेख” ।  आज जिज्ञासा मरे । किन र कसरी प्रश्न सकिए । हरेक घटनासँग सम्बन्धित  समाचारहरूको आयु अब छोट्टिँदै छ । नयाँ घटनाहरूले पुराना घटनाहरूलाई चपाइँदै छन्, ओझेल पार्दै छन । हाम्रो स्मरणशक्ति पनि कमजोर हुँदै छ । अक्षर र बोली बनेका सूचना र विचारहरूले, जमेको मस्तिष्कमा घन ठोकेर, सडकमा जुलुस फेर्ने शक्ति अब गुमे  । जब समाचार, लेख, विचार र साहित्यले समाजमा जिज्ञासा उमार्न सक्दैनन्, सोच्न प्रेरित गर्दैनन् र सोचाइलाई जीवनकर्म उतार्न ललकार्दैनन्, ती अध्ययन गर्नु, सुन्नु वाहेर्नु भनेको समय बर्बाद गर्नु हो भन्ने लाग्न थाल्यो ।

फेरिँदै गएका सोच र मान्यता देख्दा भन्न मन लाग्छ –मौनता र सरोकारहीनता इतिहासका पानामा कलंक हुन्छन् भने नबोल्नु, नचिच्याउनु् दुर्दिनलाई रातो कार्पेट ओच्छ्याएर निम्त्याइनु हो । मौनता पनि अपराधको मतियार हो । कल्पनाशास्त्र र वास्तविकता बीचको भिन्नता नछुटयाउनु हो । सेनजी–समयले हिजोलाई बिर्सन दिँदोरहेनछ । नियत सही भए पनि परिणाम सधेँ उत्तम निक्लदैन रहेछ् । त्यसैले इतिहास पुनर्पाठ भइरहन्छ । सम्पत्तिको हकवालाझँ विचार, आन्दोलन राजनीतिका पनि उत्तराधिकारी हुँदोरहेनछन् । 

ज्ञान र सूचनाको क्षेत्रफल साँघुरिँदा सत्यबोध पनि कमजोर हुन जाँदो रहेछ । दृष्टिकोण निर्माण, भूमिका र संवेगात्मक क्षमतामा असर पर्दो रहेछ । थाहा नपाउनु कमजोरी हुन सक्ला, अपराध भने हैन । जिज्ञासा नै नराख्नु भनेको पक्कै सोचको कमजोरी हो । जब स्वार्थलाई केन्द्रमा राखेर भ्रमित सत्यको धूवाँका पर्खाल खडा हुन्छन् तब चिन्तनको केन्द्रमा मान्छे नभई आग्रह र अहंकार बन्न थाल्छ; । इतिहासको निर्मम चिहानमा पुरिएका लासहरूलाई पनि कठघरामा उभ्याइन्छ । सामान्यजनका त्रुटि, कमजोरी, उदासीनताले व्यक्ति वा परिवार विशेषले मात्र दुःखकष्ट बेहोर्नु पर्दो रहेछ, तर व्यक्तित्वले गरेका कमजोरी र अपराधको परिणाम समय, समाज र देशले भोग्नुपर्छ; दोष अरूतिर सार्न पाइँदैन, क्यार ।   

व्यक्ति केन्द्रित राज्यसत्ताले समस्याको संकेत थाहा पाउन सक्दैन, चाहँदैन ।  कसरी असली मुद्दाबाट ध्यान अन्यन्त्र हटाउने ? नयाँ न्यारेटिभ बनाउने भन्नेमा सधैँ सक्रिय हुन्छ । परिस्थितिको आकलन गर्न नसक्दा लोकप्रियता, साधन, स्रोत र संगठन गलत ठाउँमा प्रयोग गरिन्छन् । नालीमा फिनेल हालिदिनेबित्तिकै  सबै कीरा छिचडिएर बाहिर देखिएजस्तै सुविधाका मौका पाउनेबित्तिकै आदर्श समयसँगै छताछुल्ल हुन्छन् । 

एकै पटक विपरित दुवै कुरा सही हुनै सक्दैन् । प्रतिक्रियाले उत्पन्न विचार सिर्जनात्मक हुनै सक्दैनथ्यो। नैतिकता, आदर्श र दायित्व किन्ने÷बेच्ने वस्तु पनि हैनन् न कसैले लगाइदिने गहना। स्वअनुभूति गरिने आत्मादेश मात्र हो । परीक्षित व्यक्तिले न जनमतको विश्वास लिन सक्छ न पहल लिने इच्छाशक्ति नै रहन्छ । विचारहीन मान्छे त मूर्दा हुन्छन्, हैन त !

नयाँ उदयमान शक्तिले वर्चश्वशाली तप्कासँग शक्तिको हिस्सेदारी खोज्दा जहाँ पनि राजनीतिक उथलपुथल हुन्छ ।व्यापक जनअसन्तोषले नयाँ राजनीतिक शक्तिमात्रै उदय हुँदैन, नयाँ अभिजात तप्का पनि जन्मन्छ । तब मात्र पुराना अभिजातले नयाँशक्तिलाई एउटा हिस्सा दिन्छन् । नयाँ अभिजात पुरानैसँग घुलमिल हुँदा नैतिक पुँजी गुमाउँछन् । नाम र शब्द त्यही रहेपनि सन्दर्भ र समयसँगै विद्रोही बन्ने आधार, प्रतिबद्धता, महत्व र सन्देश अपिल गर्ने मनोबल खस्कन्छ । तब नयाँ तर्क कोरलिन थाल्छन् । आग्रहका पर्खाल खडा भइसकेर सामन्ती संस्कृतिमा फेरिँदा त्यो टुट्न सक्छ, तर सहमति, सहकार्य र सहयात्रा गर्न भने तयार हुँदैन । एक ठाउँ र एक समयको सत्यलाई अर्का ठाउँ र समयमा समयको गतिसँगै नियाल्न सकिँदैन ।

मानिसले सही बाटो छेकियो भने गलत बाटो समात्छ । गलत बाटो हिँडेर गन्तव्य पुग्नै सकिँदैन । परिस्थिति र विवशता शक्तिले तय गर्छ । त्यो उन्मुक्तता भने इतिहासको कलंक बन्छ । युगले त्यसको मूल्य भुक्तान गर्नुपर्छ । चाप्लुसी संस्कृतिले मौका पाउँदा निन्दारसले भाउ पाउँछ । निन्दा र आक्रमणलाई कमजोर शासकले सुरक्षा घेरा सोच्छन् । कमजोर शासकका समस्या बलियो र सर्वज्ञ देखाउने मनोरोग हुन्छ । समयका पांग्रा घुमिरहन्छन् । ऐतिहासिक परिवर्तनको आवश्यक थियो। त्यसले नयाँ अवस्था त ल्यायो, तर त्यसको राजनीतिक व्यवस्थापन गर्न भने सकेन । वर्चश्वशाली तप्का त्यसलाई स्विकार्न तयार थिएन ।

सामन्ती संस्कृतिले स्वाभिमानलाई अहङ्कारमा पु¥याउँछ । शक्तिमा टिक्न, पुग्न, रहिरहन जेजस्तो सन्धि, सम्झौता र सहमति गरेपनि त्यो आन्दोलनले शक्ति समीकरणमा ल्याएको उथलपुथलको सङ्कटलाई घर्काउने चालमात्रै हुन्थ्यो । सत्ता र सरकार एउटै होइन । जीवन सहज,सरल भएको हे,विचारको कर्रो मान्छे–आदर्शको पतन र मौनताको बर्को ओढेको समाजमा मौन बसेर सत्य बोल्ने अधिकार गुमाएका भीडले वैकल्पिक सत्यको व्याख्या गरेर सत्ताको चाकरी गरिरहेको हुन्छ । समय फेरियो, बहस फेरिए ।

महान क्रान्तिकारीहरू कसरी ढल्छन् ? कसरी वर्ग सिफ्ट हुन्छ ? बुद्धि र विवेकलिलामी गरेर दुस्मनका बफादार सेवक बन्छन् ? न्युमेन क्लातुराको (लालमण्डले) जन्म र विकास निर्माण कसरी हुन्छ ? क्रान्ति कसरी प्रतिक्रान्तिमा फेरिन्छ ? भनेर तिमी अन्टिनियो गाम्स्की पढन प्रोत्साहित गथ्यो ।  कुरूपतालाई नंग्याउँदै निकोलाई गोगलको गद्दारी र पतनबारे छताछुल्ल पार्ने अलेक्जेन्डर हर्जेनको कथा पुस्तक हो,तिमीले नै मलाई दिएको । ति कथा हालेर  सत्ता दलाल लेखक र पत्रकारलाई चिढ्याउँदै थप शत्रु कमाउन पनि चाहन्न ।

लोकस्वीकृति र लोकप्रियता फरक विषय हुन् । अवसरलाई व्यापक स्वीकृति आवश्यक हुन्छ । स्वीकृतिको सोच उत्पादन (कन्सेप्ट म्यानिफ्याक्चर)  प्राधिकारकालागि विचारको समृद्धि, जनआवेग वा उत्तेजना आवश्यक पर्छ । भिड बनाउन भय र प्रलोभनले मात्रै पुग्दैन । भिडको पनि एउटा आवेगी सिद्धान्त र तर्क त हुन्छ नै । मान्छेले के मन पराउँछन्, के मन पराउँदैन, त्यसले सही र गलतको निर्णय गर्दैन । । तिम्रो सम्झनाले पनि म त आतंकित हुन्छु भने तिम्रा हत्याराहरुलाई कसरुी दिनको चैन र रातको निन्द्रा आउला । तिम्रा हिजाका अधिकांस साथीहरुले कर्मकाण्ड त गर्लान तर उनीहरुमा आदर्श त स्यालको सिंग भएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.