जनक भण्डारी
भित्री मधेसको लालढुङ्गाबाट घण्टौँ टाढा रहेको लालसिंहको गाउँबाट भारततर्फका अग्ला पहाडहरू-उत्तराखण्डका बस्तीहरू -साँझ परेपछि बिजुलीको झिलिमिलीले झलमल टल्किन्थे। टाढा भएर पनि ती शहरका बत्तीहरू यहाँका अँध्यारा आँखामा नजिकै झझल्किन्थे- सपना जस्तै, पाउने आशामा सधैं अधुरा। बीचमा बग्ने महाकाली-जसले सधैंझैं सीमाना मात्र हैन, जीवनको हैसियत पनि छुट्याइरहेकी थिई ।
नदीको पारि भारत — उज्यालो, घना बजार, र बाटाहरू; र यता नेपाल-सुनसान डाँडामा टालिएको जिन्दगी, बाँझो खेत, र जरा खन्ता झैँ गहिरिएका चेहराहरू। त्यही डाँडाको पेटिमा थियो लालसिंको झुप्रो- खरले छोपिएको पुरानो छाना, चर्किएको ढोकामा टेको, भित्ताभरि गोरखापत्र र च्यातिएका अखबार टाँसिएका। ती अखबारहरूमा देश–दुनियाँका खबर थिए होलान्, तर त्यो झुप्रोभित्र भने केवल श्वास र भोकसँगको संघर्ष थियो।
लालसिंको तन्नेरी जीवन डोको, नाम्ला, गह्रौँ भारी र काँडाघारी बाटोसँग लड्दै बितेको थियो। १६ वर्षकै कलिलो उमेरमा उपल्लो गाउँकी गोमतीसँग बाँधिएका थिए- प्रेमले होइन, गरिबीको सहमतिले गाँसिएको सम्बन्धमा। विवाह गर्नकै लागि लालसिंले गाउँकै जेठा साहूसँग पाँचहजार रुपैयाँ ऋण सापटी लिएका थिए – ब्याजसहित तिर्ने कबुलमा। साहूले तमसुक बनाएका थिए – जसमा उनले ल्याप्चे ठोकेका थिए। कागजमा मसी सुक्न नपाउँदै त्यो तमसुक जीवनमा जरो गाडिसकेको थियो।
गोमतीसँगको विवाह सम्पन्न त भयो, तर थाप्लोमा ऋणको भार थपियो। विवाहपछिका दिनहरू एकाएक उज्यालिँदै गए। गोमती अब दुई जिउकी थिइन्। पेटभित्र केही चमत्कार पलाइरहेझैँ लाग्थ्यो उनलाई—कहिले डर, कहिले सपना। बिहानको ओझेलमा आँगनमा उभिएर उनी अकस्मात गाईको बाच्छीलाई हेर्थिन्- अब त्यो दूध दिन थालिसकेको थियो।
“हेर्नु न, माइतीबाट ल्याएको बाच्छी पनि आमाजस्तै भइसक्यो,” एक दिन गोमतीले लाल सिं लाई भनिन्। लालसिंहले टाउको हल्लाउँदै मुस्कुराए, “तँ पनि आमा बन्न लागिस्, गोमती। जिन्दगी यही हो—दुख र सुखको पालो।”
माइतीले विहेमा दाईजो दिएको त्यो गाईको बाच्छी, एक जोरी बाख्रा, र ठूलो तामाको गाग्री—यी सबै गोमतीका लागि सम्झना थिए। त्यो गाग्रीमा अहिले पनि उनी पानी भरेर ढोका ढकढकाउँथिन्, माइतीको माया पानीको आवाजमा घन्किएझैँ लाग्थ्यो।

विवाहपछिको पहिलो वर्ष नपुग्दै, गोमतीले सन्तान जन्माइन्—सानो नानी, निसासिएको स्वर, र आँखा बन्द। गोमतीले काखमा राखेर कति सपना देखेकी थिइन्—धन्न छोरो हो, बाबा जस्तै मेहनती बनोस् भन्ने! तर त्यो सुख धेरै समय टिक्न सकेन। सन्तानले छ महिनामै आँखा बन्द गर्यो। “एक दिनमात्रै अघि अस्पताल पुर्याउन सकेको भए…”
“तर अस्पताल त धेरै टाढा थियो… शायद बचाउन सकिन्थ्यो,” लालसिंहको स्वर गल्थ्यो। गोमती भने चुपचाप—काख खाली थियो, गाग्रीमा पानी नपुगेझैँ। तीन वर्षको पर्खाइपछि दोस्रो सन्तानका रूपमा जन्मिए—धनबिरे। गोमतीको छाती च्यात्दै आएको त्यो नवजीवन, लालसिंहको थकित निधारमा भने आशाको पहिलो बिँदु बन्यो।
जीवन सजिलो थिएन—तर सम्भव थियो। उनीहरूले दुधालु भैंसी पाल्थे, र त्यही घिउ नै बाँच्ने आधार थियो। लालढुङ्गा बजारका व्यापारीहरू गाउँमा घिउ संकलन गर्थे र ब्रह्मदेव बजारसम्म लैजान्थे। गोमतीले टिनको भाँडोमा एक चौथाई घिउ जम्मा गरेपछि, लालसिंह ढिलो नगरी बजारतिर लाग्थे—बिहान सबेरै।
त्यो घिउले पैसा बटुल्थ्यो, र पैसाले जिन्दगीलाई अलिकति समय थप्थ्यो। नुन ल्याउँथ्यो, तेल ल्याउँथ्यो—कहिलेकाहीँ धुलो साबुन पनि। साँझ भइसकेको हुन्थ्यो, तर दिन सकिँदैनथ्यो—किनभने उनीहरूको श्रम साँझमा पनि बजिरहन्थ्यो, गोठका भैंसीका सास जस्तै। यद्यपि, जेठा साहुको ऋण भने ब्याजको चाङ बढाउँदै गइरहेको थियो। एक दिन साहु घरमै आइपुगे। लालसिंहले खिर पकाएर सत्कार गरे, तर मुटुमा बजिरहेको डर लुकाउन सकेनन्।
“साहुबा, यसपालि पनि रित्तो हात पठाउनु पर्यो, माफ गर्नुहोला,” उनले स्वर थामेर भने। साहुले निधार खुम्च्याउँदै भने, “अब हुँदैन, लालसिंहे। चार वर्ष भइसक्यो, न त हिसाब छ, न त भरपर्दो योजना। लालसिंहले केही भन्न सकेनन्। तर सहमतिमा टाउको हल्लाउँदै थिए, साहुको आँखाले एउटा चिज समातिसकेको रहेछ—गोठको छेउमा बाँधिएको दुधालु भैंसी र गोमतीले माइतीबाट ल्याएको ठूलो तामाको गग्रो।
“ए लालसिंह, यस्तो गर—त्यो भैंसी र गग्रो दिन सक्दस् भने, नयाँ तमसुकको कुरा सकिन्छ। अहिलेसम्मको ब्याज पनि चुक्ता मानिन्छ। तेरो नै सजिलोका लागि भनेको, बाँकी तँ बुझ,”
साहुले निर्णय सुनाए। काखमा एक वर्षे धनबिरेलाई च्यापेकी गोमती चुपचाप सुनिरहेकी थिइन्। उनका आँखा साहुको अनुहारमा अडिएका थिए, तर मन भने सुत्केरी पीडाले बनाएको गहिरो खाडलजस्तो भइसकेको थियो। लालसिंह केही बोल्न सकेनन्। सहमतिमा टाउको हल्लाए। साहु हिँड्न लागे—एक हातमा भैंसिको डोरी, अर्कोमा गाग्री।
गोठ एकाएक सुनसान भयो। सास त चलिरहेको थियो, तर त्यो झुप्रोभित्र मानौँ जिन्दगीको आवाज हराइसकेको थियो। गोमतीले छोराको निधार चुमिन्। उसको मुखको कुनामा दूधको धव्वा झलमलाइरहेको थियो—तर त्यो दूध अब कहिल्यै आउने छैन। उनले आँखा चिम्लिन्। आँसु बगाइनन्, तर मनमा एउटा गहिरो चोट थन्किएको थियो—न देखिने, न सुनिने। त्यो रात गोमतीले चुपचाप निधार टेकी सुतिन्, धनबिरेको निधार चिसिंदै गयो—त्यही निधार, जहाँ अब सपनाहरू होइन, साहुको तमसुकको छायाँ पलाउनेछ। क्रमश:
