धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको एक महिना बिते पनि मन्त्रीपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । सरकार विस्तार तथा मन्त्रीपरिषद्ले पूर्णता नपाउँदा प्रदेश सरकारको नियमित कामकारवाही तथा नीतिगत निर्णयमा समस्या देखिएको छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएको पनि एक साता बितिसकेकाे छ । आगामी आर्थिक वर्षकाे लागि बजेट बनाउने दिन घर्किरहेकाे बेला प्रदेश सरकारकाे आर्थिक मामिला मन्त्रालय नै मन्त्री बिहीन छ। यसअघि मन्त्रालयकाे भागबण्डा मिलाउन सत्ता गठबन्धनका शिर्ष नेतृत्वसँग छलफल गर्न काठमाण्डाै पुगेका मुख्यमन्त्री साेडारी भेट नपाएपछि सुदूरपश्चिम फर्केका छन् ।
साेडारीलाइ मुख्यमन्त्रीमा समर्थन गरी बिश्वासकाे मत दिएका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु नै प्रदेश सरकार विस्तारको विषयमा अहिलेसम्म कुनै छलफल नगरेकाे बताइरहँदा अन्याैलता झन बढेकाे हाे। विभिन्न किसिमको चर्चा परिचर्चा भइरहेको बेला मुख्यमन्त्री सोडारीले भने सङ्घीय बजेट भाषणपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउने दावी गर्छन ।
उनले भने, “सबैलाई समेट्ने गरी मन्त्रालय थप्ने विषयमा कुनै छलफल भएको छैन । समर्थन गर्ने दलबाट मन्त्रीको नाम आउनेबित्तिकै प्रदेश सरकारले पूर्णता पाउने छ ।”
मुख्यमन्त्री सोडारीलाई उनकाे पार्टी एकीकृत समाजवादी लगायत नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यमध्ये दुईले र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका थिए।