
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिममा एकीकृत समाजवादीले सुरु गरेको विद्रोह राष्ट्रको हितमा रहेको टिप्पणी गरेका छन् । प्रदेश सरकारका काम चलाऊ मुख्यमन्त्रीको हैसियतमा रहेका शाहले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘देशलाई नै अस्थिरता र अनिर्णयको बन्दी बनाउनको लागि माओवादी, एमालेसहित दलको नयाँ सत्ता समीकरण बनेको हो । यसको औचित्य सावित भइसकेको छ । जुन औचित्यहीन छ भन्ने कुराको सुरुवात सुदूरपश्चिमबाट एकीकृत समाजवादीले गरेको छ । जुन राष्ट्रको हितमा छ ।’
सुदूरपश्चिममा कांग्रेस, नाउपा, समाजवादी र राप्रपाको वैकल्पिक गठनको सरकार बन्ने निश्चित रहेको बताउँदै उनले प्रदेश प्रमुखबाट निर्णय गर्नमा ढिलाइ भएकोप्रति असन्तुष्टि समेत जनाए । ‘हिजो हामीले दाबी पेस गरिसकेपछि आज पनि हामीले प्रदेश प्रमुखसँग छलफल गरेका छौँ । विधि, विधान, प्रक्रिया भन्दा बाहिर गएर निर्णय लिँदा राम्रो हुँदैन भनेर भनेका छौँ ।’
उनले अगाडी थपे, ‘मैले बसेको कुर्सीमा चाँडो भन्दा लक्ष्मणकिशोर चौधरीलाई बसाउने मेरो तथा मेरो दलको प्रयत्न हो ।’
