
धनगढी। सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिँनै लाग्दा पनि सत्ता साझेदार दलबीच सहमति जुट्न सकेको छैन। प्रदेश प्रमुखले वैशाख २ गते बेलुका ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न चैत २३ गते आह्वान गरेका थिए।
दलहरुबीच ठोस सहमति नभए पनि नागरिक उन्मुक्तिको नेतृत्वमा सरकार बन्ने चर्चा भने सुरु भएको छ। नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले नयाँ संसदीय दलको नेता चयन गरेका प्रदेश सभा सदस्य कैलाश चौधरीले आफ्नो नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन हुने केन्द्रमा सत्ता गठबन्धनबीच सहमति भइसकेको दाबी गरे। उनले वैशाख २ गतेसम्म मुख्यमन्त्रीमा दाबी पेश गरिने बताए।
दुई पक्षमा विभाजित नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु बुधबार सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयमा छलफलमा जुटेका थिए। प्रदेश सांसद र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीसहितले छलफल गरे पनि ठोस निष्कर्ष केही नआएको अर्का प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीले बताए। उनले बाहिर आएका कुराहरु खाली हल्ला मात्रै रहेको र शुक्रबार बेलुकासम्म केही निष्कर्ष आउने बताए।
नयाँ सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले अहिलेसम्म कुनै ठोस सहमति नभएको र केन्द्रबाट पनि केही निर्देशन नआएको बताए। अर्को सत्ता साझेदार दल एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारीले पनि आजसम्म सरकार गठनका बारेमा ठोस प्रगति नभएको बताए। उनले भने, ‘केही दिनअघि सुदूरपश्चिम प्रदेशमा हाम्रो दललाई नेतृत्व दिने गठबन्धनमा सहमति भएको छ, तर कसरी अघि बढ्छ अहिले केही थाहा छैन।’
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पनि सबै विषय केन्द्रबाटै टुङ्गिने बताए। उनले वैशाख २ गतेसम्म सबै विषय मिलेर मुख्यमन्त्रीको दाबी पेश हुने बताए।
