धनगढी। निक्कै ठूलो रस्साकसीपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिममा नयाँ गठबन्धनसँग जाने भएको छ । बुधबार नाउपाका संरक्षक रेशम चौधरीको उपस्थितिमा सांसदहरूबीच प्रदेश सरकारको नेतृत्व लिनेगरि एमाले-माओवादी गठबन्धनमा अघि बढ्ने विषयमा छलफल भएको आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले बताए।
छलफलमा सहभागी सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरीले नयाँ गठबन्धनमा मुख्यमन्त्री हाम्रो बटमलाइन हो। उनले पार्टी संरक्षक सहितको बैठकमा यो बीचमा भएका घटनाक्रमको समेत समीक्षा भएको बताउँदै अब एकमत भएर अघि बढ्ने कुरामा छलफल केन्द्रीत भएको सुनाए।
संघमा नयाँ समीकरण बनेपछि नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद सिर्जना भएको थियो। रञ्जिता सुदूरपश्चिममा नयाँ गठबन्धनको पक्ष र रेशम कांग्रेसको पक्षमा उभिएका थिए। रेशमको जोडबलमा नाउपाका ७ मध्ये ५ जनालाई मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री बनाएका थिए।
तर रञ्जिता पक्षका कैलाश र टीका थापा शाहलाई विश्वासको मत नदिने पक्षमा उभिएपछि मुख्यमन्त्री शाहले २२ चैतमा पदबाट राजीनामा गरेका थिए। उनको राजिनामा स्वीकृत गरि प्रदेश प्रमुखले वैशाख २ गतेसम्म प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गरेका छन।