बझाङ प्रदेशसभा-१को उप-निर्वाचनमा १२ जनाको उम्मेदवारी

धनगढी। बझाङ प्रदेशसभा–१ मा हुने उप–निर्वाचनका लागि १२ जना उम्मेदवारहरूले उमेदवारी दर्ता गराएका छन्। बैशाख १५ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको हो ।

जस अनुसार नेकपा एकीकृत समाजवादीको तर्फबाट दिलबहादुर सिंह, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट किशोर खड्काले उम्मदवारी दर्ता गराएका छन्। यस्तै, नेकपा एमालेको तर्फबाट दमन भण्डारी, नेकपा (माओवादी केन्द्र)का जनक बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंह सवारी दुर्घटनामा निधन भएका मन्त्री स्व पृथ्वीबहादुर सिंहका जेठा छोरा हुनभने माओवादीका जनक बुढा यसअघि संबिधानसभा सदस्य भैसकेका अनुभवी नेता हुन्। इलाममा माओवादीले नेकपा एमालेका उम्मेदवारलाई सघाएबापत बझाङमा आफ्नो उम्मेदवारलाई एमालेले सघाउनु पर्ने माग माओवादीले गर्दै आएको छ। 

यस्तै राष्ट्रिय मातृभूमी पार्टीबाट विनोद बहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टीबाट राम बहादुर जाग्रीको उमेदवारी परेको छ । नेपाल जनता दलबाट अशोक सुनार, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खडका र जनमत पार्टीबाट शुसीला देबी विष्टको उमेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गर्दैछ । आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ। निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने कार्य तालिका छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.