काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठकपछि मातहतका कमिटीमा ५ बुँदे सर्कुलर पठाएको छ । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा सुदूरपश्चिममा पार्टीमा देखिएको समस्याबारे विशेष उल्लेख गरिएको छ ।
जसमा माओवादीले सुदूरपश्चिम प्रदेशसभा दलको नेता परिवर्तनको सन्दर्भमा सम्बन्धित तहको पार्टीको निर्णय विना प्रदेशसभा दलले गरेको दल नेता परिवर्तनको निर्णय पार्टीको पद्धतिगत दृष्टिले गल्ती भएको ठहर गरिएको छ । ‘सो निर्णयमा सहभागी कमरेडहरूलाई कडा आलोचना गरी आगामी दिनमा त्यस प्रकारको गल्ती नदोहो-याउनका लागि सचेत गराउने निर्णय गरियो’, माओवादीको सर्कुलरमा भनिएको छ ।
माओवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टलाई पार्टीकै एक समूहले पदबाट हटाएको थियो । सर्कुलरमा सचेत गराउने भनिए पनि सो गल्ती उल्ट्याउने निर्णय भने भएको छैन । गत माघ दोस्रो साता सुदूरपश्चिम संसदीय दलको नेता भट्टलाई हटाएर मानबहादुर धामीलाई बनाउने निर्णय भएपछि विवाद रहँदै आएको छ ।
यो विषयमा स्थायी कमिटी बैठकमा समेत छलफल भए पनि कारबाही भने कसैमाथि पनि नभएको हो । -रातोपाटीबाट