कैलालीका ३३ उद्योग अनुदानका लागि छनोट

धनगढी। कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत ३३ उद्योग छनोट गरिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती उद्योगलाई अनुदानका लागि छनोट गरिएको हो । 

घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले लामो समयदेखि सञ्चालनमा रहेका उद्योगको स्तरोन्नति गर्न एक निर्वाचन क्षेत्र एक उद्योग प्रवद्र्धन सहयोग कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको एक निर्वाचन क्षेत्र एक उद्योग प्रवद्र्धन सहयोग कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । घरेलु कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका सबै प्रकृतिका उद्योगको स्तरोन्नतिका लागि अनुदानस्वरुप रकम उपलब्ध गराइने लेखा अधिकृत जोशीले जानकारी दिए । उनले छनोट गरिएका प्रति उद्योगलाई रु तीन लाखदेखि रु पाँच लाखसम्म अनुदान उपलब्ध गराइने बताए ।

छनोट भएका उद्योगका सञ्चालकले उद्योगलाई आवश्यक पर्ने औद्योगिक उपकरण, मेसिनरी सामानलगायतका सामग्री खरिद गरेको बिल कार्यालयलाई उपलब्ध गराउनुपर्ने प्रावधान छ । खरिद गरेको बिलका आधारमा रकम  भुक्तानी गरिनेछ । लेखा अधिकृत जोशीले दिएको जानकारीअनुसार उद्योगीको २० र प्रदेश सरकारको ८० प्रतिशत लागत साझेदारीमा अनुदान दिइनेछ ।

अनुदानका लागि छनोट गरिएका उद्योगका सञ्चालकसँग सम्झौता गर्ने काम सम्पन्न भई कार्यान्वनको चरणमा छ । कार्यालयका अनुसार डेरी, फर्निचर, मौरीपालन, कृषिजन्यलगायत स्थानीय कच्चा पदार्थमा आधरित उद्योग अनुदानका लागि छनोट गरिएकन छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.