धनगढी। सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले सत्ता टिकाउन भागबण्डाका लागि मन्त्रालय तोडनु राम्रो नहुने बताएका छन् । बर्तमान सुदूरपश्चिम सरकार अल्पमतमा परेपछि सत्ता जोगाउन मन्त्रालय तोडेर भएपनि उपाय खोजिरहेकाबेला पूर्बमुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।
नेकपा विभाजन भएका बेला मन्त्रालय विभाजनको दबाब आफूलाई पनि आएको स्मरण गर्दै उनले मन्त्रालय विभाजन गर्दा जनतामा झन निरासा हुने भन्दै टुक्र्याउन नमानेको बताए। ‘मलाई पनि भागबण्डा मिलाउन मन्त्रालय तोडने दबाब आएको थियो तर, मैले मानिन । फलस्वरुप सुदूरपश्चिममा सुरुवातकै बेलाका मन्त्रालय कामय रहे । भागबण्डाका लागि मन्त्रालय तोडनु राम्रो होईन, जनतामा यसको नराम्रो सन्देश जान्छ’ उनले भने ।
अल्पमतको सरकारले या राजीनामा दिनुपर्ने या बहुमत सिद्ध गर्नुपर्ने हुन्छ। उनले भने- ‘सरकार अल्पमतमा परिसकेका छ । अब मुख्यमन्त्री शाहसँग राजीनामा दिएर सहज पार्ने या विश्वासको मत लिने दुुई विकल्प छन । मन्त्रालय विभाजन गर्नु अहिलेको आवश्यकता होईन’ उनले भने ।
यता, मुख्यमन्त्री कमल बहादुर शाहले सरकार जोगाउन जस्तो सुकै कदम पनि चाल्ने संकेत गरेका छन । उनले बिद्धमान सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय तोडेर पनि नागरिक उन्मुक्तिका बढी भन्दा बढीलाई मन्त्री बनाउने जुक्ति निकालेको बताईएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदका एकजना अधिकृत भन्छन, ‘क्याबिनेट बस्ने वित्तिकै दुुई वटा मन्त्रालय तोडेर पनि भागबण्डा मिलाउने तयारी भएको छ ।’
सुदूरपश्चिममा मुख्यमत्री तथा मन्त्री परिषदको कार्यालय सहित ७ वटा मात्रै मन्त्रालय छन । ती दुुई मन्त्रालय तोडियो भने सुदूरपश्चिममा ९ मन्त्रालय हुनेछन ।