धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्रीले सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेको हो ।
सङ्घमा माओवादीले नेकपा (एमाले) सहितका दलहरूसँग नयाँ गठबन्धन गरेकाले माओवादीबाट सरकारमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरेको मुख्यमन्त्री कमलबहादुर शाहले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन्। मन्त्री बर्खास्त गरेर उनले दुवै मन्त्रालयको जिम्मेवारी आफैले लिएको बताएका छन्।
सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) सहितको संयुक्त सरकार बनेको भएपनि नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई यथावत राखेका छन् । सुदूरपश्चिममा नाउपा र नेकपा (एस)को समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ । सोही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई हटाएको हो ।
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी)का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छनभने एउटा सिट रिक्त छ ।