धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । राजनीतिक एवम् प्रशासनिक सहकार्य तथा समन्वयको दृष्टिकोणबाट सरकारको एक वर्षको कार्यकाल सुखद् रूपमा बितेको मुख्यमन्त्री शाहले बताए ।
कठिन भूगोल, गरिबी, बेरोजगारी तथा शिक्षा र स्वास्थ्य सेवामा समस्या, उद्यमशीलता, भौतिक पूर्वाधार विकासको कमी, सीमित स्रोत साधन लगायतका कारणले प्रदेश सरकार जनताको अपेक्षामा खरो रूपमा उत्रिन नसकेको मुख्यमन्त्रीको स्वीकार थियो । यद्यपि, प्रदेश सरकार नीतिगत सुधार, बेरुजु घटाउने गरी वित्तीय व्यवस्थापन, कृषि तथा पशुपन्छी विकास लगायतको कार्यमा अगाडि बढेको मुख्यमन्त्रीको भनाइ थियो ।
धार्मिक पर्यटनको विकासका लागि मानस खण्ड सम्मेलन र प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सम्पन्न, सेती ६, पश्चिम सेती, वेतन कर्णालीलगायत जलविद्युत आयोजना र गौरवका तथा बहुवर्षीय आयोजनाको प्रत्यक्ष अवलोकनगरी समयमै काम सम्पन्न गर्न निर्देशन दिइएको, खेलाडीहरूलाई प्रोत्साहनलाई उपलब्धि भनेको छ। सरकारले यो अवधिमा तीन वटा नियमावली, आठ वटा कार्यविधि र तीन वटा मापदण्ड बनाएको छ । एक वर्षको अवधिमा एक हजार ६०९ हेक्टर क्षेत्रफलमा वर्षैभरी सुविधा हुने गरी सिँचाइ उपलब्ध गराइएको, १०८.१९ किलोमिटर कालोपत्रे सडक, १२२.९७ किलोमिटर माटे, १८५.९० किलोमिटर ग्राबेल सडक निर्माण भएको जनाइएको छ ।
यो अवधिमा सरकारले नौ वटा सडकपुल निर्माण गरेको छ । यसैगरी दुई हजार ५०५ किलोमिटर पाइपलाइन जडान गरेर ८२ हजार ७०२ जनालाई आधारभूत खानेपानी सेवा उपलब्ध गराइएको छ। चालु आर्थिक वर्षमा बजेट खर्चको प्रगति र राजस्व सङ्कलनको हकमा प्रदेश सरकार ठिक ठाउँमा रहेको आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बताए । चालु आर्थिक वर्षको हालसम्म प्रदेश सरकारले ६४ करोड राजस्व सङ्कलन गरेको छ । गतवर्ष यही अवधिसम्म प्रदेशमा ५१ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो ।