धनगढी। नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश पदाधिकारीले खगराज भट्टलाई दलको नेताबाट हटाउने निर्णय अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिएको छ ।
शुक्रबार संसदीय दलका १० मध्ये छ जनाको बहुमतको बैठकले भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको थियो । उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकमा मानबहादुर धामी, ओमविक्रम भाट सरल, शिवबहादुर ओली, लक्ष्मी विक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गीतादेवी मालको उपस्थिति थियो । सो बैठकमा भट्ट, मन्त्रीहरु झपटबहादुर साउद, रमेश धामी र जानकी पौडेल कुँवर अनुपस्थित थिय । सो निर्णयप्रति आपत्ति जनाउँदै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी तुरुन्त निर्णय सच्याउन निर्देशन दिएको हो ।
शनिबार माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका उपलब्ध पदाधीकारीको बैठकले प्रदेश संसदीय दललाई भट्टलाई नै दलको नेतामा पुनःस्थापित गर्न निर्देशन दिने निर्णय गरेके हो । साथै सो बैठकले प्रदेश संसदीय दलमा देखिएको विवाद समाधानका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालयलाई आग्रह पनि गरेको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष हरिराम चौधरी र सचिव जनकबहादुर बुढाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा “हाम्रो पार्टी परम्परा–विधिविपरीत केन्द्रीय कार्यालयको निर्देशनको समेत अवज्ञा गरेर गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा हुने भएकाले संसदीय दलको यो निर्णय पार्टीका हजारौँ कार्यकताका मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।” भनिएको छ।