सुदूरपश्चिम प्रदेशसभा विषयगत समिति सभापतिको मनोनयन हुँदै

धनगढी । दोस्रो कार्यकालको प्रदेशसभा सुरुको एक वर्षपछि सुदूरपश्चिम प्रदेशको विषयगत समितिलाई नेतृत्व दिने तयारी गरिएको छ। आज विषयगत समितिको सभापतिकालागि उम्मेदवारी दर्ताको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । प्रदेशले सभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारको उम्मेदवारी मङ्गलवार (आज) १ बजे दर्ता हुने भएको छ। 

आजै मतदाता नामावली माथि दाबी विरोध, अन्तिम नामावली प्रकाशन, सभापति पदमा निर्वाचन गर्ने प्रस्ताव दर्ता गर्ने निर्वाचन तालिका रहेको छ । त्यस्तै भोली सभापतिको उम्मेदवार माथि दाबी विरोध, सभापति उम्मेदवारको अन्तिम नामावली प्रकाश र सभापति निर्वाचनको लागि बैठक प्रारम्भ निर्वाचन परिणाम घोषणा गर्ने जनाइएको छ ।

तर, हिजो साँझ मुख्यमन्त्री सहित बसेका सत्ता गठबन्धनका नेताहरूले विषयगत समितिको भागबन्डा टुङ्गो लगाएका छन्। सहमतिअनुसार भए मनोनयन दर्ता लगत्तै आज नै निर्बिरोध हुनसक्छ। सहमतिअनुसार विधायन तथा प्रदेश मामिला समिति कांग्रेसले पाउने भएको छ। विशेषाधिकार समिति नयाँ बनाएर  माओवादीलाई, सामाजिक विकास समिति नेकपा एकीकृत समाजवादी र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति नागरिक उन्मुक्ति पार्टीले पाउने भएको छ ।

अहिलेसम्म ती समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेको थियो । राप्रपाले सार्वजनिक लेखा समिति प्रमुखमा दाबी गरेको भएपनि प्रतिपक्षी दल एमालेलाई दिने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए । समितिको भागबन्डा मिलेसँगै सभापतिको पनि करिब टुङ्गो लागेको छ ।

कांग्रेसबाट विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा दिवानसिंह विष्ट निर्वाचित हुने करिब पक्का भएको छ । नागरिक उन्मुक्ति पार्टीले भने आफ्नो भागमा पर्ने समितिमा संसदीय दलका नेता घनश्याम चौधरीलाई पठाउने निर्णय गरिसकेको छ । नेकपा एकीकृत समाजवादीले पनि सामाजिक विकास समितिमा सदस्य रहेकी माया पन्तलाई सभापति बनाउने तयारी गरेको छ।

सार्वजनिक लेखा समितिमा नेकपा एमालेको तर्फबाट वीरबहादुर विष्टलाई उम्मेदवार बनाउने एमालेले टुङ्गो लगाइसकेको छ । यस विषयमा एमाले सांसदहरूले सोमबार मुख्यमन्त्री कमल बहादुर शाहलाई समेत भेटेर सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने बताइसकेका थिए ।

माओवादी भागको नयाँ बन्ने विशेषाधिकार समितिमा लक्ष्मी बिक ल्याएर सरकारको बिरुद्ध नेतृत्वकहा पुग्ने गुटलाई फोड्ने गठबन्धनको सहमति भएको बैठकमा सहभागी एक नेताले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.