धनगढी । चीनको भ्रमणमा जाँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुदूरपश्चिमका महत्त्वपूर्ण दुई माग सम्बोधन गराउन मुख्यमन्त्री शाहको नेतृत्वमा सबै मन्त्रीहरू काठमाडौँ पुगेका छन् । बझाङको उरै भन्ज्याङ हुँदै तिब्बतको ताक्लाकोट सीमा नाका र महाकाली कोरिडोर हुँदै पुगिने तिंकर नाकाका बिषय चीन भ्रमणको एजेन्डा नबाउन मुख्यमन्त्री सहितका मन्त्रीहरू काठमाडौँ पुगेका हुन्।
मुख्यमन्त्री शाहसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा,सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी,आर्थिक मामिला मन्त्री नरेश शाही काठमाडौँ पुगेका छन्।
मुख्यमन्त्रीसहित मन्त्रीको टोलीले प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिमका दुई महत्त्वपूर्ण बिषय चीन भ्रमणमा समेट्न आग्रह गर्न काठमाडौँ पुगेको एक मन्त्रीले बताए । उनका अनुसार उत्तर दक्षिण जोड्ने दुई नाका सुचारुका लागि चीन सरकारसँग समन्वय गर्न प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकारले अपिल गरेको हो। चीन भ्रमणमा प्रधानमन्त्रीले यी दुई नाकाका बिषयमा चासो राखे र चिन सरकार यसमा सराकारत्मक भए प्रदेशको समृद्धिको आधार बन्न सक्ने सरकारको बुझाइ छ।
कैलालीको टीकापुरदेखि डोटी जिल्लाको पूर्वी भाग, अछाम, बाजुरा र बझाङको उरै भन्ज्याङ हुँदै तिब्बतको ताक्लाकोट सीमा नाकासम्म ३ सय ५९ किलोमिटर लामो सेती लोकमार्गको हालसम्म १ सय ८७ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ। विशेषतः हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र मानिने कैलाश मानसरोवरसम्म पुग्न सेती लोकमार्ग पश्चिमभरिमा सबैभन्दा छोटो र कम लागत लाग्ने महत्त्वपूर्ण आयोजना हो।