सुदूरपश्चिमका यी ७९ नेताले जरिवाना नतिरे चुनाव लड्न नपाउने

 धनगढी । निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाएको कसुरमा सुदूरपश्चिमका ७९ नेतालाई जरिमाना ताेकेछ । ताेकिएको समयमा निर्वाचन खर्च विवरण सार्वजनिक नगरी निर्वाचन ऐनको उल्लङ्घन गरेका कारण आयोगले उनीहरुलाई जरिवाना गरेको हो ।

सात दिनभित्रै निर्वाचन खर्च सार्वजनिक गरेर सोको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन पेस गर्न पुनः आदेश दिएको छ ।जरिवाना वापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाइने विज्ञप्तिमा उल्लेख छ । सुदूरपश्चिममा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका ३७ र प्रदेश सभातर्फ उम्मेदवारी दिएका ४२ जनाले निर्वाचन खर्च नबुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका नेताद्वय नारायणप्रकाश साउद (एनपी साउद) र रमेश लेखकसहित कञ्चनपुरबाटै उम्मेदवारी दिएका दिल्लीबहादुर शाही, खेम सुवेदी, जगतबहादुर सायर, हरिनादेवी भट्ट, रास्वपाका देवराज जोशी, रामकिसन राना, अशोकबहादुर सिंह, जगदीश अवस्थीलाई जरिवाना गरेको छ । यस्तै, वीरबहादुर बोहरा, प्रेमसिंह बडाल, लोकराज भट्ट, विद्यादेव जोशी, दुर्गादत्त पाण्डेय, शारदादेवी चन्द, दीपकबहादुर सिंह, सुभाषसिंह धामी, मदन दमाई, कृष्ण लुहार, सुशीलादेवी विष्ट र अम्बादत्त तिवारीलाई पनि जरिवाना गरिएको छ ।

कैलालीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका विजयसिंह मयाल, नवीनकुमार बोहरा, भीमबहादुर थापामगर, रामबहादुर सिंह र सत्यराज उपाध्यायलाई आयोगले जरिवाना गरेको छ । बैतडीबाट उम्मेदवारी दिएका देवबहादुर चन्द, कृष्णप्रसाद गोसाइ, मानसिंह विष्ट, केशवबहादुर चन्द, त्रिलोकबहादुर चन्द, प्रकाशचन्द्र भट्ट,आनसिंह भण्डारी, कृष्णबहादुर चन्द, हिम्मतबहादुर चन्द र नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवरलाई जरिवाना गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.