धनगढी । प्रदेश सरकार छुटेका महत्वपूर्ण योजनाका लागि बजेटको व्यवस्था गर्न र प्रदेश पूर्वाधार विकास कार्यक्रमको बजेट बढाउन सहमत भएको छ । शीर्षक नतोकिएर राखिएको बजेटबाट छुटेका योजनालाई समावेश गरेर बजेट सन्तुलित बनाउने, पूर्वाधार विकास कार्यक्रमको बजेट तीन करोडबाट बढाएर पाँच करोड पुर्याउने सहमति सरकार र सत्तापक्षीय दलहरूबीच भएको स्रोतले जनाएको छ ।
सरकारसँगको सहमतिपछि बजेट पारित गर्न सत्तापक्षका सांसद तयार भएका हुन् । अस्थायी राजधानीमा मन्त्रालयहरूका संरचना निर्माणका लागि छुट्याइएको बजेट घटाउने र कतिपय छुटेका महत्वपूर्ण योजनाका लागि बजेट विनियोजन गर्ने सहमति भएको एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घबहादुर सोडारीले बताए । पूर्वाधार विकास कार्यक्रमको बजेटबारे पनि केही सहमति भएको उनले स्वीकार गरे ।
सरकारको नेतृत्व गरिरहेको कांग्रेससहित सत्तापक्षीय दलका सबैजसो प्रदेश सांसद सदनमा छलफलका क्रममा बजेटको विपक्षमा बोलेका थिए । सत्तापक्षमै बजेटप्रति चर्को असन्तुष्टि व्यक्त भएपछि सरकारले पूर्वाधार विकासको बजेट बढाउने र केही योजनाहरूमा बजेटको व्यवस्था गर्ने सहमति गरेर सत्तापक्षका सांसदलाई मनाएको हो । बजेटमा भएका कतिपय त्रुटिहरू सच्याएर जान सरकार तयार भएको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए ।
यसअघि सत्तापक्ष तीन दल माओवादी, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीको संयुक्त बैठकले यथास्थितिमा बजेटको समर्थन नगर्ने निर्णय गरेको थियो ।