गाेकर्ण दयाल
बैतडी। बैतडीका एक शिक्षकले बाँझो रहेको जग्गा स्याहारेर टमाटर खेती गर्दा वार्षिक चार लाख रुपियाँ आम्दानी भएको छ। शिवनाथ गाउँपालिका–३, पोखरेठीका धनवीरसिंह साउदले बाँझो रहेको करिब पाँच रोपनी जग्गामा एक सय क्विन्टलभन्दा बढी टमाटर उत्पादन गर्नुभएको हाे।
सो बारीमा १३ वटा पोलिहाउस निर्माण गरेर उत्पादन भएको टमाटर लिन धनगढीबाट व्यापारीहरू गाडी लिएर आएको उनले बताए। स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा राहत दरबन्दीका शिक्षक साउदले शिक्षण पेसाभन्दा कृषि कर्म आम्दानीको राम्रो स्रोत भएको बताए। विद्यालयमा पढाउने काम सकेर साँझ/बिहानको समय टमाटर खेती गर्दै आएका साउदले खेर गइरहेको बाँझो जग्गा र फुर्सदको समय तरकारी खेतीमा खर्चेका उनीले कृषि खेतीका लागि बैङ्कबाट १० लाख रुपियाँ ऋण निकालेको बताए।
शिक्षक साउद अहिले शिवनाथ गाउँपालिकाकै नमुना कृषक बनेका छन्। “शिक्षण पेसा गरेर खान त पुगेकै थियो, उनले भने, “बाँझो जग्गा राख्नुभन्दा तरकारी खेती गर्नु राम्रो लाग्यो। पहाडमा गाउँमा तरकारी र टमाटर धनगढीबाट आएको देख्दा मन थाम्न नसकेर सुरु गरेको हुँ।’’