धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठकमा समयकाे ख्याल नगर्दा नेकपा एमाले र माओवादी केन्द्र संसदीय दलका नेता एकै दिन कारवाहीमा परेका छन् । शुक्रबार बैठकमा सभामुखले बाेल्न दिएकाे १५ मिनेट समयकाे ख्याल नगरेपछि नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल र माओवादी केन्द्र संसदीय दलका नेता खजराज भट्टमाथि कारवाहीस्वरुप माईक काटिएकाे थियाे ।
सुदूरपश्चिम प्रदेश सभामा शुक्रवार नीति तथा कार्यक्रममाथि छलफल हुँदै गर्दा दुई जनाको सभामुख भीमबहादुर भण्डारीले माइक काँटेका थिए । प्रतिपक्षी दलका नेता रावललाई सभामुखले समय सकिएकाे दुई पटक आग्रह गर्दा पनि बाेल्न नछाेडेपछि माईक नै काँट्नु परेकाे हाे । त्यसैमा रावलले थप सुझाव रहेको भन्दै गर्दा सभामुख भण्डारीले माइक काँटेपनि उनको भाषण जारी रह्यो । सभामुख भण्डारीले माइक काटेको एक मिनेटपछि रावलले सभामा भाषण बन्द गरे ।
नेकपा माओवादी केन्द्रका खगराज भट्टले सभामा भाग लिदैं निर्धारित समयको पालना गर्न सबैमा सुझाव दिए । तर, उनैलाई दिईएको १५ मिनेट भन्दा बढी बोल्दा सभामुख भण्डारीले माइक काटे । संसदीय दलका नेता भट्टले नीति तथा कार्यक्रमको छलफलमा भने –‘हामी संसदीय मर्यादातालाई कायम राखौं । केही दिन यता सभामुखले तोकेको निर्धारित समयभन्दा बढी समय हामी सभामा बोल्छौं । यसको मर्यादाता बुझौं । तोकिएको समयको पालना गरौं ।’ तर, उनैले निर्धारित समयभन्दा बढी बोल्दा माइक काटिएको थियो ।
सभामुख भण्डारी भन्छन् –‘निर्धारित समय कार्य परामर्श समिति बैठकमै निर्धारण हुन्छन् । हामीले त सभामा सचेत गराउने हो । अब बढी समय लिए माइक त काट्नै पर्यो ।’