‘खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउनुपर्छ’ प्रचण्ड

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खप्तडलाई  सुदूरपश्चिमका लागि मात्र नभई देशकै पर्यावरणमैत्री, पर्यटकीय आध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने बताएका छन् ।  प्रधानमन्त्री प्रचण्डले तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै खप्तड विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको बताएका हुन् ।

उनले नयाँ पर्यावरणमैत्रीसहित खप्तडको नयाँ संरचनाको विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिदै भने, “यहाँ अमेरिका, इजरायल, भारतजस्ता देशका दूतावासबाट प्रतिनिधिहरु जसरी खप्तड आउनुभएको छ, त्यसले यस क्षेत्रको महत्वलाई अन्तर्राष्ट्रियरुपमा स्थापित गराएको छ ।” खप्तडलाई पर्यटनको केन्द्र र अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउनुपर्छ उनले भने । 

प्रधानमन्त्री प्रचण्डले पहिलेभन्दा अहिले अलि फरक तरिकाले सुदूरपश्चिमको विकासमा ध्यान केन्द्रित गर्ने बताए । “म यहाँका जनप्रतिनिधि र जनसमुदायलाई भन्न चाहन्छु चाहे यहाँ विश्वविद्यालय स्थापना गर्ने सम्बन्धमा स्वास्थ विज्ञान विश्वविद्यालय स्थापना गर्ने घोषणा र क्याबिनेटबाट गरिएको निर्णय होस्, या दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्न अहिले भर्खर भारतसँग भएको सहमति होस् । सुदूरपश्चिम क्षेत्रको विकास नगरेसम्म देश समृद्ध हुन सक्दैन ।”  

उनले नेपाल सांस्कृतिक विरासत र वैभव तथा आध्यात्मिक दृष्टिकोणले विश्वकै अब्बल देश भएको चर्चा गरे । नेपालमा हजारौं प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यका स्थलहरु रहेको उनको भनाइ छ । पूर्वमा पाथीभरादेखि पश्चिममा बडिमालिकासम्म हजारौँ त्यस्ता ठाउँ छन् जसको विकासले हामीले पर्यटनमा रेकर्ड बनाउन सक्छौं उनले भने ।

परराष्ट्रमन्त्री एनपी साउदले अन्तर्राष्ट्रिय समुदायलाई खप्तडमा लगानी गर्न आग्रह गरे । योगगुरु रामदेवले खप्तडको पर्यटन प्रबर्धन गर्न आफूले सकेजति निःशुल्क रुपमा प्रचारप्रसार गर्ने बताए । आचार्य बालकृष्णले जीवनमा एक पटक खप्तड हेर्न आउनैपर्ने बताए । “जिउँदै स्वर्ग हेर्नुछ भने खप्तड आउनुस्, खप्तड धेरै सुन्दर छ पतन्जली योगपिठको सहयोग हुन्छ” उनले भने।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजक मूल समारोह समितिका संयोजक कमलबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रदेश प्रमुख देवराज जोशी, सभामुख भीमबहादुर भण्डारी, नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावल, नेपाली काँग्रेसका नेता रमेश लेखकलगायतको उपस्थिति थियो ।

सो सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहले संयुक्त रुपमा आयोजना गरेका हुन । खप्तडको धार्मिक, आध्यात्मिक र सांस्कृतिक पक्ष संरक्षण गर्न सम्मेलनको आयोजना गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.