धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेको छ । आज बिहान बालुवाटारमा भएको भेटमा सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र यहाँका विकासको योजनाबारे छलफल भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए।
मुख्यमन्त्री शाहले भने, ‘ उहाँ प्रधानमन्त्री प्रचण्डले आजै उच्च स्तरीय राजनीतिक कार्यदलमा कुरा राख्ने बताउनुभएको छ ।’ मुख्यमन्त्री शाहसँग भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, उपनेता अक्कल रावल र सांसद ओम विक्रम भाट सरल पनि बालुवाटार पुगेका थिए।
मुख्यमन्त्री शाह नियुक्त भएको यही वैशाख २७ गते ३ महिना पुग्दैछ । तर ३ सदस्य रहेको मन्त्रिपरिषद् हालसम्म विस्तार हुनसकेको छैन । सरकारको नेतृत्वदेखि मन्त्रालय भागबन्डामा सत्तारुढ दलमा सकस देखिएको छ।