धनगढी । धनगढीमा रहेको सुदूरपश्चिम कलेज एकेडमी (एसपीए)का विद्यार्थीले विद्युतीय कार (ईभी) निर्माण गरी सार्वजनिक गरेका छन् । कलेजका कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत सागर खनालले उक्त कार बनाएका हुन् ।
उक्त कार बनाउन करिव ६ महिना लागेको उनले बताए । ३ लाखको लागतमा बनाएको उक्त कारलाई धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले एसपीए कलेजमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् । नगर प्रमुख मेयरले कारमा एक फन्को लगाएपछि प्रतिभाशाली विद्यार्थीको नयाँ आविष्कारमा धनगढी उप महानगरको साथ रहने बताए । उक्त कार निर्माणको सम्पूर्ण खर्च एसपी कलेजले ब्यहोरेको कलेज प्रमुख योगराज उपाध्यायले बताए । विद्यार्थीको प्रतिभा विकासका लागि कलेजको लगानी रहने उनले बताए । एक पटक पूरा चार्ज गरेमा ८० देखि १ सय किलोमिटरसम्म कार गुड्ने सागरले दाबी गरे । कार स्टार्ट गर्नका लागि चाबीसँगै सेक्युरिटी नम्बर पनि आवश्यक पर्दछ ।
यसले गर्दा कार चोरीको सम्भावना कम हुने उनले बताए । यो गाडी निर्माण तरिकालाई अझै स्तरोन्नति गरेर व्यावसायिक बनाउन सकिने कलेजका प्रवन्ध निर्देशक शुभास शाहीले बताए । कारमा फोल्डिङ सिट, क्यामेराको जडानले चालकले अगाडि पछाडि हेर्न सक्ने सागरले बताए ।