धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (आइतवार) विश्वासको मत लिने भएका छन्। आइतवार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा शाहले विश्वासको मत माग्ने कार्यतालिका छ।
माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीसंग विश्वासको मतका लागि छलफल भएको भन्दै मुख्यमन्त्री शाहले दिउँसो १ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने बताए।
बिहान ११ बजेको माओवादी दलको बैठक बस्दैछ, बैठकले निर्णय गर्ने विश्वास मुख्यमन्त्री शाहको छ। उनले भने, ‘अहिलेसम्म केही निर्णय गर्नु भएको छैन्।’ तर माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले विना लिखित मत नदिने बताएका छन्। नागरिक उन्मुक्ति र माओवादी कुनै एकले विश्वासको मत नदिए शाहको मुख्यमन्त्री पद संकटमा हुनेछ। उनले एमालेको साथ लिनुपर्ने वा राजीनामा दिनुपर्ने हुन्छ्।
प्रदेश सरकारकाे समर्थनमा नेपाली काँग्रेसका १९ एकीकृत समाजवादीका चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। शाहलाई विश्वासको मतका लागि थप तीन जना प्रदेश सभा सदस्यको मत आवस्यक हुन्छ। सुदूरपश्चिममा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका चार र राप्रपाका एक जना प्रदेश सभा सदस्य छन्।