धनगढी । सुदूरपश्चिम प्रदेशसभाले आज सभामुख पाउने भएकाे छ । यसका लागि अहिले १० बजेदेखि संसद बैठक चलिरहेकाे छ । यसअघि दुई पटक निर्वाचन हुँदा पनि कसैले बहुमत पुराउन नसक्दा प्रदेश सभाले सभामुख पाउन सकेकाे थिएन् ।
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सत्तापक्षीय उम्मेदवार भीमबहादुर भण्डारीलाई मत दिने भएको छ । यद्यपि, तत्कालका लागि आफ्ना माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडान उन्मुक्ति पार्टीको छ । यसअघि पुस २८ को पहिलो चुनावमा नेकपा (माओवादी)का सभामुखका उम्मेदवार भीमबहादुर भण्डारीले पुस २६ र पुस ३० गतेको दोस्रो चुनावमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेपछि २२ मत मात्रै पाएका थिए ।
नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ धनगढी पुगेर आफ्ना प्रदेश सदस्यलाई सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिएपछि आजकाे निर्वाचनबाट प्रदेशसभाले सभामुख पाउने बताइएकाे छ ।