धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि राजेन्द्रसिंह रावलले आफ्नो दावी पेश गर्ने तयारीमा छन् । सत्ता साझेदार दलबीच भएको सहमतिअनुसार नेकपा (एमाले) का नेता रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष आफ्नो दाबी पेस गर्न लागेका हुन् ।
आज दिउँसो रावलले आफ्नो दाबी पेस गर्ने एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव एवम् प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए । केन्द्रमा सत्ता साझेदार दलबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा (माओवादी केन्द्र) ले आलोपालो गरेर सरकार चलाउने भएका छन् । अढाई वर्ष एमालेका रावल र अढाई वर्ष माओवादी केन्द्रका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने सहमति केन्द्रमा बनेको उनले बताए ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आज ५ बजेसम्मको समय निर्धारण गरिएको छ । प्रदेश सभामा माओवादी केन्द्रबाट ११, एमालेबाट १०, नागरिक उन्मुक्ति पार्टीबाट ७ र राप्रपाबाट १ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व छ । सत्ता साझेदार दलबीच सहमति बनेपछि आज दावी पेस गर्न लागिएको नेताहरुले बताएका छन् । यसअघिसम्म नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको दावी गर्दैआए पनि पछिल्लो समय रावलको नाममा सहमति बनेको हो ।