धनगढी । सुदूरपश्चिम प्रदेशसभा सरकारमा बहुमतकाे दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ ।
सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ । नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन भइरहेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ ।
प्रदेश सरकारको नेतृत्वको दौडमा रहेका एमाले संसदीय दलका नेता राजेन्द्र रावल अहिलेका सत्ता गठबन्धनमा रहेका सबै दलहरूबीच साझा सहमतिको वातावरण बनाउन छलफल चलिरहेको बताउछन् । सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको छ। पहिले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने सहमती अनुसार रावलले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए।
रावलले सुदूरपश्चिमका प्रदेश सभा सदस्यहरु पनि काठमाण्डौमा रहेकाले हस्ताक्षर संकलनको काम पनि बाँकी रहेको बताएका छन्। सुदूरपश्चिममा एमाले नेतृत्वमा माओवादी र नागरिक उन्मुक्तिको समर्थनमा प्रदेश सरकार गठन हुने रावलको दाबी छ।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।