धनगढी । बेराेजगार युवालाई राेजगारमा जाेड्ने सुदूरपश्चिम प्रदेश सरकारकाे बहुप्रतिक्षित कार्यक्रम सुरु भएकाे छ । प्रदेश स्वरोजगार बिकास कोषले रोजगार सिर्जना गर्न पहिलाे चरणमा दुई सहकारी संस्थाहरु मार्फत मंगलवार एक कार्यक्रमकावीच न्युन ब्याजमा थोक कर्जा प्रवाह शुरु गरेको हाे । स्वरोजगार बिकास कोषले सुरुकाे दिनमा प्रदेशका दुई सहकारीहरुलाई ८०/८० लाख रुपैया थोक कर्जा प्रवाह गरेको हाे ।
कोषले कैलालीको गोदावरी नगरपालिका चौकीडाँडामा रहेको मालाखेती कृषि सहकारी संस्था र कन्चनपुरको महेन्द्रनगरमा रहेको संकल्प कृषि सहकारी संस्थालाई थोक कर्जा प्रवाह गरेको हो ।
आर्थिक मामिला तथा योजना राज्यमन्त्री बलबहादुर सोडारीले उक्त सहकारीका प्रतिनिधिलाई थोक लगानीको चेक हस्तानतरण गरेका हुन् ।
कोषले १ प्रतिशत ब्याजमा ती सहकारीहरुलाई थोक कर्जा प्रवाह गरेको र ती सहकारीहरुले बढीमा ४ प्रतिशत मार्जिन लिएर अधिकतम ५ प्रतिशतमा कर्जा प्रवाह गर्नु पर्ने रकम हस्तान्तरण कार्यक्रममा कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले जानकारी दिए । उनले सहकारीसँग व्यावायिक साझेदारी गरेर थोक लगानी शुरु गरेकाे बताए।
कोषबाट पाएको ऋण रकमबाट मालाखेती कृषि सहकारीले ३० जना र संकल्प कृषि सहकारीले ३९ जनालाई ऋण लगानी गर्ने भएका छन् । सहकारीहरुले लक्षित समुदायक व्यक्तिलाई अधिकतम तीन लाखसम्म, ५ जना वा सो भन्दा बढी सदस्य रहेको सामुहिक व्यवसायलाई १० लाखसम्म लगानी गर्न सक्नेछन् ।
सहकारीहरुले ऋण लिनका लागि इच्छुक व्यक्तिहरुको सुची र बिस्तृत विवरण कोषमा बुझाउनु पर्ने र कोषले स्वीकृत गरेका व्यक्तिहरुलाई मात्र लगानी गर्नु पर्नेछ । कोषबाट पाउने थोक कर्जा सहकारीहरुले आफु खुशी लगानी गर्ने र लगानीको अपेक्षित उपलव्धि नआउने नहोस् भनेर फरक व्यवस्था गरेकाे कार्यकारी निर्देशक तिम्सिनाले बताए । उनले भने-‘सहकारीबाट आएको विवरण कोषले फिल्डमा नै गएर अध्ययन गरेर लगानीका लागि उपयुक्त ठहरयाएपछि मात्र सहकारीले लगानी गर्न पाउँछ ।’
प्रदेश सरकारले २०७६ को बजेटमा बैदेशिक रोजगारीमा जाने जनशक्तिलाई स्वदेशमै स्वरोजगारमुलक कृयाकलापमा संलगन गराउन, उद्यमशिलताको बिकस गर्न एव पूजीको अभाव भइ लगानीको श्रोत अपुग भएका बेरोजगार युवालाई नागरिकता र शैक्षिक प्रमाणपत्र धितो राखी न्युन ब्याजदरमा ऋण प्रवाह गर्न स्वरोजगार बिकास कोषको अन्तर्गत १ अर्ब बिनयोजन गरेको थियो ।
पहिलो पटक बजेट छुट्याएको पाँच बर्षपछि सबै प्रकृया पुरा गरेर कोषले लगानी शुरु गरेको हो । सो अवससरमा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बल बहादुर सोडारीले सहकारीलाई गरिएको थोक लगानीले रोजगारी सिर्जना हुनेमा आफु बिश्वस्त रहेको बताए । कार्यक्रम काेषका अधिकृत माधव जोशीले संचालन गरेका थिए ।