डडेल्धुराबाट प्रधानमन्त्री देउवा लगातार साताैं पटक बिजयी

धनगढी । प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित भएका छन् । मङ्सिर ४ गते सम्पन्न भएको सङ्घीय चुनावमा प्रतिनिधिसभातर्फ डडेलधुराबाट प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याए भने नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले सात हजार ५३५ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उनकाअनुसार खसेकाे ५१ हजार २०३ मतमध्ये तीन हजार १८७ मत बदर भएको छ ।

पहिलो पटक २०४८ सालमा नेपाली काँग्रेस पार्टीबाट उम्मेदवार बनेका देउवा विजयी भएपछि त्यसयताका ६ वटै निर्वाचनमा विजयी भएको छन् । यस पटक सातौँ पटक उनी विजयी भएका हुन् । देशको पाँच पटक प्रधानमन्त्रीसमेत भएर इतिहास बनाएका देउवा नयाँ संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन दुई पटक गराउन सफल भएका छन् ।

एक मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरामा यस पटकको निर्वाचनमा सत्ता गठबन्धन दलहरूबाट देउवा उम्मेदवार बन्नुभएको हो । यो ऐतिहासिक विजयले देउवालाई फेरि देशको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.