डडेल्धुरा। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक १७ गते गृहजिल्ला डडेल्धुरा आउने भएका छन् । डडेल्धुराबाट गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत रहेका देउवा चुनावी कार्यक्रमका लागि डडेल्धुरा आउने भएका हुन् ।
कात्तिक १७ गतेदेखि सुरु हुने चार दिने कार्यक्रमका लागि देउवा जिल्ला आउने कार्यक्रम रहेको काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले बताए । साउँदका अनुसार १७ गते अमरगढी नगरपालिकास्थित बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकोछ।
“१८ गते बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,” साउदले भने ।
ती सभामा सत्ता गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य पदको उमेदवार रहेका खगराज भट्ट र गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने तयारी छ । ०४८ सालदेखि निरन्तर डडेलधुराबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका देउवाले पहिलोपटक कम्युनिस्टको पनि साथ पाएका छन् । अहिले देउवाको प्रचारमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)का नेताहरू पनि संलग्न छन् ।
देउवाविरुद्ध लामो समय देउवाकै स्वकीयसचिव रहेका नेपाली कांग्रेस (बीपी)का कर्ण मल्ल, स्वतन्त्र उमेदवार सागर ढकाललगायत आठजना चुनावी मैदानमा छन् । देउवाले श्रीमती आरजु राणा देउवामार्फत आसन्न निर्वाचनका लागि उमेदवारी मनोनयनपत्र दर्ता गराएका थिए ।