‘कैलालीमा जग्गा बेच्दै धान किनेर खाने बढे’

टीकापुर। कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यान पर्ने बताए ।

छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम चापागाईँले पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने गर्नाले समस्या भएको बताए । उनले टीकापुरमा सुरुको गुरुयोजना, त्यसपछिको आवधिक योजना हराएको गुनासो गर्दै यहाँ हरेक ठाउँमा आर्थिक अनियमितता भइरहेकाले नागरिकले जीवनस्तर वृद्धि गर्न नसकेको बताए । “जनप्रतिनिधि संयमित हुनुपर्छ, हरेक कार्यमा निगरानी बढाउनुपर्छ, उनले भने, “विकासका सवालमा गुरुयोजनाअनुसार काम गरेमा गुणस्तरीय हुन्छ । यहाँ नागरिकले पनि हरेक काममा सवाल गर्न आवश्यक छ ।”

मानिस अल्छी बन्दै गएकाले भएको जग्गाजमिन मासिँदै जान थालेको, अवसरवादी र सुविधा भोगी बन्न थालेका उनको भनाइ छ । टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले दिगो विकास उत्पादकत्व बढेपछि हुने भएकाले अनि मात्र आर्थिक विकास सम्भव भएको बताए । उनले कृषि उत्पादन बढाउन जरुरी रहेको उल्लेख गर्दै राज्यले दिने कृषितर्फका सेवामा पनि नक्कली किसान तयार भएकाले समस्या भएको बताए । 

“यहाँ सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कृषितर्फ लगानी गरेको छ । कृषितर्फ दिइने अनुदान खान नक्कली किसान बनेका छन्”, उनले भने, “वास्तविक किसान मर्कामा परेका छन्, कृषिको लगानी सदुपयोग भएन, सदुपयोग नभए उत्पादन बढ्ने कुरा भएन, अनि कसरी समृद्धि हुन्छ ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.