गठबन्धनविरुद्ध बागी उम्मेदवारले गर्दा बैतडीमा त्रिपक्षीय प्रतिस्पर्धा

गोकर्ण दयाल 

बैतडी । प्रतिनिधि सभा निर्वाचनमा बैतडीमा गठबन्धन दल, नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर र एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने भए पनि गठबन्धनविरुद्ध बागी बनेका नेपाली कांग्रेसका नेता एवं पूर्वसहायकमन्त्री केशव चन्दसमेत चुनावी मैदानमा उत्रिएपछि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो।

यद्यपि बागी उम्मेदवारी दिएका चन्दलाई कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ। माओवादी केन्द्रका उम्मेदवार कुँवर र एमाले नेता दामोदर भण्डारीबीच यसअघि पनि प्रतिस्पर्धा भएको थियो। कुँवरले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा भण्डारीलाई पराजित गरेका थिए भने २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा कुँवरलाई पराजित गर्दै भण्डारी विजयी भएका थिए। २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा कुँवरले भण्डारीका लागि मत मागेका थिए।

बैतडीका १० स्थानीय तह र ८४ वडामध्ये २०७९ को स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारले पाँच पालिका र ४४ वडामा निर्वाचन जितेका थिए। कांग्रेसले चार स्थानीय तह र ३२ वडा तथा माओवादी केन्द्रले एक स्थानीय तह र १२ वडामा निर्वाचन जितेका थिए। एमालेले चार स्थानीय तह र ३६ वडामा स्थानीय तहको निर्वाचन जितेको थियो भने स्वतन्त्र उम्मेदवारले एक पालिका प्रमुखसहित तीन वडा र राप्रपाले एक वडामा स्थानीय तहको निर्वाचन जितेका थिए।

गठबन्धनबिरुद्ध कांग्रेसका चन्द बागी उम्मेदवार बनेपछि रोचक भिडन्त हुने आकलन गरिएको छ। चन्द २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाटन नगरपालिकाको प्रमुखमा विजयी भएको थिए। यसअघि उनी २०५३ सालमा सहायक मन्त्रीसमेत भएका थिए। गाेरखापत्र अनलाइन

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.