धनगढी । सुदूरपश्चिममा सबै भन्दा चासाेले हेरिएकाे निर्वाचन क्षेत्र हाे कैलाली निर्वाचन क्षेत्र नम्बर ४ । जहाँ दुई प्रमुख पार्टीका सुदूरपश्चिम प्रमुख नेकपा एमालेका सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्ट र नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति बीर बहादुर बलायरबीच प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा हुदैछ । उनीहरु दुवै पूर्वमन्त्री पनि हुन् ।
पार्टी फेरेपनि भट्ट कैलाली क्षेत्र नम्बर ४ का सदाबहार उम्मेदवार हुन् भने बलायर सत्ता गठबन्धकाे साथले पहिलो पटक यहाँबाट चुनाव लड्दैछन् । दुबै जनाबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । भट्ट चौथौ पटक प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन् । यसअघि दुई पटक जीत र एक पटक हार व्यहोरेका भट्टले पार्टी फेरेपछि भने आफ्नो बिरासत र ईतिहास जोगाउने दवाव छ ।
२०७४ मा ११ हजारको मतान्तरले जितेका भट्ट पछिल्लो स्थानीय तहको मत परिणामको आधारमा गठबन्धन दलका उम्मेदवार भन्दा १५ हजार चार सय ८ भोटले पछाडि छन् । भट्टको गृह नगर गोदावरी नगरपालिकामा काँग्रेसले मेयर सहित सात वटा वडा जितेको छ । काँग्रेसका मेयर बिरेन्द्र भट्टले १५ हजार पाँच सय एक मत ल्याउदा एमालेका मेयरका उम्मेदवार गोकर्ण भट्टले ११ हजार दुई सय २४ मत ल्याए । मेयरमा पराजीत गोकर्ण भट्ट एमाले नेता भट्टका सहोदर भाई हुन् । चार हजार दुई सय ७७ मतको अन्तरले यहाँ काँग्रेसले मेयर पदमा जीत हात पारेको छ ।
त्यस्तै गोदावरी नगरालिकामा एकीकृत समाजवादी पार्टीका वडा अध्यक्षहरुले एक हजार तीन सय १० र माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवारहरुले दुई हजार सात सय आठ मत प्राप्त गरेका थिए । माओवादी केन्द्र, समाजवादीले पाएको मतमा मेयरको मतान्तर जोड्दा गोदावरी नगरपालिकामा बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार बीर बहादुर बलायर आठ हजार दुई सय ९५ मतले अगाडि छन् । गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार देवीदत्त कँडेले एमालेका मेयर पदका उम्मेदवार पदम सिंह सिंगाललाई दोब्बरभन्दा बढि मतले पराजीत गरेका थिए । कँडेलले १३ हजार सात सय ९५ मत ल्याउदा सिंगालले छ हजार छ सय ३२ मत प्राप्त गरेका थिए । दुबै जनाबीच सात हजार एक सय १३ मतको अन्तर छ ।
गोदावरी नगरपालिका र गौरीगंगामा काँग्रेस, माओवादी केन्द्र र समाजवादीले स्थानीय तहमा पाएको मतका आधारमा बामगठबन्धन कैलाली क्षेत्र नम्बर ४ मा १५ हजार चार सय ८ मतले अगाडि देखिन्छ । स्थानीय तहको मत परिणामका आधारमा बलायरको जीत सहज देखिन्छ । यद्दपि यसैलाई आधार बनाएर आंकलन गर्न भने कठिन छ । किनकी काँग्रेसभित्र आन्तरिक कलह र पुरानो तुष यथावत छ । टिकट नपाउनेको आक्रोश कम भईसकेको छैन । बलायरलाई बाहिरबाट आएर टिकट खोसेको आरोप पनि छ । र, राजधानीको विषयमा बलायरले दिएको अभिव्यक्ति पनि प्रतिपक्षीले यतिबेला सामाजिक सञ्जालमा भाईरल बनाएका छन् ।
हुनत यस्तै अवस्था एमालेभित्र पनि छ । भीम रावल पक्षधहरु एकातिर लेखराज भट्टसंग असन्तुष्ट छन् । अर्कोतिर स्थानीय तहमा एमालेभित्र भएको कुटाकुटको तुष अहिलेसम्म सेलाईसकेको छैन । नेकपा बिभाजनको असर नेकपा एमालेका उम्मेदवार भट्टलाई पर्ने देखिन्छ । यद्दपि स्थानीय तहको निर्बाचनको परिणामलाई आधार बनाएर अहिले नै कुनै उम्मेदवारले जित्ने दावी गर्नु हतार हुन्छ । एकातिर स्थानीय तहको निर्बाचन पछि थपिएका मतदाता छन् । त्यसमाथि ठूलो संख्यामा धार्मिक र जातीय मतहरु छन् । ती कसको पक्षमा जान्छन्, अहिले नै आंकलन गर्न सकिदैन ।
चुनावमा बागी उम्मेदवार, पार्टी भित्रको आन्तरिक कलह, टिकट वितरण प्रति नेताहरुको असन्तुष्टि, असन्तुष्ट मतदाता र कार्यकर्ताहरुलाई दुबै उम्मेदवारहरुले कसरी मिलाउछन ? र,उनीहरुको चुनावी रणनीति कति प्रभावकारी हुन्छ, त्यसैले जीत र हार तय गर्नेछ ।