डडेल्धुरामा एमालेका स्नेही लगायत ४ जनाले लिए उम्मेदवारी फिर्ता

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभातर्फ उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्र स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए। यस्तै प्रदेशसभा १ मा काँग्रेस बीपीका गणेश जोशी र प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिएका छन्।

एमालेले उम्मेदवारी फिर्तालिएसँगै नेपाली काँग्रेस (विपी)सँग तालमेल हुने चर्चा यतिबेला चलेको छ। काँग्रेस विपीका एक नेताका अनुसार पनि एमालेसँग चुनावी तालमेलबारे छलफल भइरहेको छ। ‘हामीले जिल्लाको प्रदेश सभा ‘क’ मा एमालेका उम्मेदवार पठान सिंह बोहरा र एमालेले प्रतिनिधि सभामा काँग्रेस विपीका कर्णबहादुर मल्ललाई सघाउने गरि गृहकार्य चलिरहेको छ’ ती नेताले भने।

यस्तै प्रदेश सभा ‘ख’ मा एकीकृत समाजवादीका उम्मेदवार डा तारा जोशीलाई सहयोग गर्ने समेत काँग्रेस विपीको तयारी छ। त्यसको बदलामा जोशी निकट नेता कार्यकर्ताले मल्ललाई सहयोग गर्ने गरी छलफल भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.