धनगढी । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने बताएका छन् । बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको शुक्रबार धनगढीमा शुभारम्भ गर्दै उनले बीमा दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए ।
उनले भने, “अहिले नेपालभर समग्रमा बीमाको पहुँच ४१.२ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ, यसलाई वृद्धि गरिनुपर्छ ।” देशभरि विभिन्न बीमा कम्पनीका तीन हजार ३६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा ३२७ मात्रै रहेको उनले जानकारी दिए । अहिले बीमा संस्थानले दिएको प्रत्यक्ष बीमा सन्दर्भमा रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा ६८७ मात्रै छ । यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बीमाको पहुँचबाट टाढा छ, मन्त्री शर्माले भने।
अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बीमाको भएको स्पष्ट पार्दै बीमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने बताए । लगानीकर्ता, प्रयोगकर्ता र उत्पादकलाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बीमाको मुख्य उद्देश्य रहेको उनकाे भनाई थियाे ।
कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बीमाले ठूलो सहयोग गरेको बताए । उनले भने, ‘सबै क्षेत्रमा बीमा जानु पनि जरुरी छ ।’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नका लागि बीमालाई व्यापक रूपमा लैजान प्रदेश सरकार तयार रहेको बताइन् ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रका रूपमा बीमालाई लिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।