धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहर बजारका होटल तथा रेस्टुराँमा बसेर लोकतान्त्रिक सङ्घीय व्यवस्थाको विरोध गर्नुको अर्थ नरहेको बताएका छन् । बिहीबार धनगढीमा आयोजित मुख्यमन्त्रीसँग सिधाकुरा कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
जनताको लामो सङ्घर्ष र बलिदानीबाट आएको यो व्यवस्थाको मूल्याङ्कन गर्नेबेला अहिले नै आई नसकेको भन्दै मुख्यमन्त्री भट्टले संविधानअनुसार यो नयाँ व्यवस्थामा देशको कर्मचारी संयन्त्र तथा प्रशासनिक प्रणाली पनि त्यहीअनुसारको चुस्त दुरुस्त हुनुपर्ने आफ्नो अनुभव रहेको बताए ।
‘इच्छा आकाङ्क्षा र सोच नयाँ तर काम गर्ने प्रणाली पुरानै भएकाले धेरैजसो काम सम्पन्न गर्न नसकिएको भन्दै उनले भने- ‘हिजोको एकात्मक राज्य व्यवस्थाले पछाडि पारिएको सुदूरपश्चिमको अभाव र बिकटतालाई प्रदेश सरकारको पाँच वर्षे कार्यकालमै कायापलट हुने सम्भावना थिएन’ र भएन् । मुख्यमन्त्री भट्टले भने, ‘संविधानतः ऐन कानूनको निर्माण, कार्यालय र कर्मचारीको व्यवस्थापन गरेर प्रदेश सरकार सर्वसाधारण जनताको घर आँगनमा पुगेको बेला सहर बजारका होटल तथा रेस्टुराँमा बसेर लोकतान्त्रिक सङ्घीय व्यवस्थाको विरोध गर्नुको तुक छैन ।’
करिब सात दशकदेखि लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको भारतका प्रान्त सरकारसँग हाम्रो प्रदेश सरकारलाई नदाँज्न आग्रह गर्दै मुख्यमन्त्री भट्टले आफ्नै साधन स्रोतलाई परिचालन गरेर प्रदेशमा कृषि, पर्यटन, जलविद्युत, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रको पूर्वाधार निर्माणमा सरकार लागिपरेको बताए ।
सुदूरपश्चिम विश्विविधालयका पूर्व रजिस्टार डा. हेमराज पन्तले सङ्घीय व्यवस्थामा भ्रष्टाचार बढेको र जनताले अपनत्व महसुस गर्न नसकेको बताए । यस्तै रहे अबको केही वर्षमै जनता व्यवस्थाको विरुद्धमा सडकमा उत्रन सक्ने उनले चेतावनी दिए । पूर्व मन्त्रीसमेत रहेका एमाले नेता पठानसिंह बोहराले एमाले सरकारमा रहँदा ल्याएका कार्यक्रम गठबन्धन सरकारले छाडेको गुनासो गरेका थिए ।