धनगढी । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरबाट चार मेगावट बिजुली उत्पादन गर्ने जलविद्युत् योजनाको निर्माण अन्तिम चरणमा पुग्न लागेको छ । आयोजनाका इन्जिनियर तोपबहादुर खत्रीका अनुसार ९० प्रतिशत भौतिक प्रगति भइसकेको हाइड्रो पावरबाट चैत मसान्तभित्रमा बिजुली उत्पादन हुनेछ ।
उत्पादित ४.७१ मेगावट बिजुलीलाई नेसनल ग्रिडको लम्की स्टेसनसंँग जोडिनेछ । हाइड्रो पावर रहेको कटासेबाट लम्कीसम्मको दूरी साढे ६ किलोमिटर छ । विद्युतीय तार र ट्रान्समिसन लाइन तान्ने कामसमेत सम्पन्न भइसकेको इन्जिनियर खत्रीले बताए । ‘भदौभित्रमा सम्पन्न गर्ने भए पनि प्राविधिक रूपमा केही समस्या पैदा भएकाले ६ महिनापछि धकेलिन पुगेको छ,’ इन्जिनियर खत्रीले भने, ‘चैतभित्रमा बिजुली उत्पादन भइसक्छ ।’
हाइड्रो पावर रानी जमरा कुलरिया सिँचाइ आयोजनाको इनटेक बाँधदेखि १० किमि दूरीको मूल नहरको पानीबाट बिजुली निकालिँदै छ । उक्त योजनामा नहरबाट करिब साढे ७ मिटर तल पानी खसालेर ३ वटा टर्वाइनबाट बिजुली उत्पादन हुनेछ । इन्जिनियर खत्रीका अनुसार विद्युतीय प्रसारण लाइन लम्की सव स्टेसनसम्म पुर्याउने कार्यका लागि जग्गाको भोगाधिकार पाउन आईईसमेत स्वीकृत भइसकेको छ । तर, त्यहाँ रहेका १५ रुख कटान गर्न बाँकी रहेको उनले बताए ।