धनगढी । टीकापुर घटना आरोपमा जेल जीवन बिताइरहेका रेशम चौधरीको रिहाइका लागि नेपाली कांग्रेसका थारूहरू सक्रिय भएका छन्। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले आउँदो निर्वाचनमा ‘थारू मत’लाई प्रभाव पार्ने भन्दै उनीहरूले जसरी पनि रिहाइ गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्।
गत ४ साउनयता कैलाली क्षेत्र ३ का उम्मेदवार आकांक्षी रामजनम चौधरीको नेतृत्वमा थारू नेताहरू पटक–पटक बालुवाटार पुगेका छन्। रेशम चौधरीका कारण आफूहरूको राजनीति धरापमा परेको भन्दै उनीहरूले केन्द्रीय कमlटीमै एजेण्डाको रूपमा छलफल गर्नुपर्ने पार्टी सभापतिसमेत रहेका देउवासँग माग गरेका छन्। ‘आफूहरूको राजनीतिक करियर नै दाउँमा परेपछि उहाँ (रामजनम)हरू प्रधानमन्त्रीलाई भेट्नुभएको हो। रेशम चौधरीको रिहाइको मुद्दालाई किनारा लगाउनसके कैलालीका थारू नेताहरूको उद्धार पनि हुन्छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने।
उनले अघिल्ला सरकारले गरेको सम्झौतालाई नै टेकेर टीकापुर घटनालाई किनारा लगाउनुपर्ने प्रधानमन्त्रीलाई सुझाव दिएको बताए। प्रधानमन्त्री देउवाले पनि रेशम चौधरी निर्दोष रहेको आवश्वासन थारू नेताहरूलाई दिएका छन्। कानुनी प्रक्रियाबाट कसरी समाधान गर्न सकन्छि भन्ने कुराको आवश्वसन प्रधानमन्त्रीबाट पाएको ती नेताको भनाइ छ।
गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
थारू नेताहरूको दबाबपछि प्रधानमन्त्री देउवाले टीकापुर घटनाका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले थारूहरूका माग मुद्दा सम्बोधनका लागि सरकारको तर्फबाट गृहमन्त्री खाणको नेतृत्वमा खानेपानी मन्त्री उमाकान्त चौधरी, कानुनमन्त्री गोविन्द बन्दी, महान्यायाधीवक्ता खम्बबहादुर खाती र लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई खटाएको छ।