तीन सरकारबीच समन्वयात्मक तालमेल नहुँदा व्यवस्थामाथि प्रश्न

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले तीन तहका सरकारबीच समन्वयात्मक तालमेल नमिल्दा सङ्घीयता कार्यान्वयनप्रति प्रश्न उठिरहेकाे बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले मंगलबार धनगढीमा आयोजना गरेको संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र स्थापित संस्थागत संयन्त्रहरुको क्रियाशिलता सम्बन्धि प्रदेशस्तरीय कार्यक्रममा उनले सो धारणा राखेका हुन् । 

 संघीय ब्यवस्थाकाे सुआतमै ऐन कानून र कार्यविध बनाउदै विकास निर्माणका काम अगाडी बढाउदा केही जनअपेक्षानुसार काम हुन नसकेका कारण सङ्घीयताप्रति जनता सन्तुष्ट हुन नसकेको हाेला तर, हामीभन्दा पहिलेदेखि नै सङ्घीयता भएका भारतलगायतका देशसँग नेपाललाई दाँजेर असन्तुष्ट हुनुको कुनै अर्थ नहुने बताए । सबै तहका सरकारले आ–आफ्नो दायित्व बहन गरेर कार्यान्वयनमा जानुपर्नेमा उनकाे जोड थियो । तीन तहकै सरकारबीच विधिअनुसार काम भएमा समस्या नहुने उनको तर्क रहेको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सांसद लालबहादुर खड्काले पनि नीतिभित्र रहेर काम गर्न नसक्दा अहिलेको व्यवस्थामाथि प्रश्न उठ्ने गरेको बताए । तीन तहको सरकार बीच समन्वय नभएको उनले पनि दोहोर्याए । कार्यक्रमका अर्का सहभागी प्रदेश सांसद भरत खड्काले पनि अहिलेको व्यवस्था चाहिँदैन भन्नु भन्दा पनि थप व्यवस्थित बनाएर लैजानुपर्नेमा जोड दिए ।

 प्रदेश सरकारको योजना छनोटले गर्दा अहिलेको व्यवस्थामाथि प्रश्न उठेको बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । उनले यस्तै अवस्था रहेमा प्रदेश सरकार र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । यस्तै, स्थानीय सरकारसँग प्रदेश र संघीय सरकारको व्यवहार संकुचित भएको अजयमेरु गाउँपालिका डडेल्धुराका अध्यक्ष उमेश भट्टले बताए । प्रदेश र संघीय सरकारले दिने योजनाहरुको स्थानीय सरकारलाई कार्यान्वयनको अधिकार दिनुपर्ने उनको भनाइ रहेको छ ।

कार्यक्रममा टीकापुर नगरपालिका मेयर रामलाल डगौरा थारुले अहिले पनि प्रदेश र संघीय सरकारले पहुँचकै आधारमा योजना छनोट गर्ने गरेको बताए । यस्तै अवस्थाले गर्दा अहिलेको राज्य व्यवस्थामाथि प्रश्न उठ्ने गरेको उनको धारणा रहेको छ । स्थानीय तह आइसकेपश्चात् स्थानीयस्तरमा धेरै विकास भएको अनुभव पनि गरिएको सहभागीले बताए । संविधानविद् खिमलाल देवकोटा र पूर्वराष्ट्रसेवक विष्णुदत्त गौतमले साे कार्यक्रममा सहजिकरण गरेका थिए । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.