प्रदेश सरकारले आज बजेट ल्याउदै, सुदूरपश्चिममा बजेटको आकार बढ्ने

धनगढी । असार १ गते प्रदेश सरकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने प्राबधनअनुसार आज सबैजसाे प्रदेशकाे बजेट आउदैछ । यसैक्रममा सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज नै प्रदेशसभामा सार्वजनिक गर्न लागेकाे हाे ।

अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर केही थप नयाँ कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी भइरहेको हो। प्रदेशको नीति तथा योजना आयोगले पहिलोपटक पञ्चवर्षीय योजनासहित २५ अर्बको बजेट सिलिङ तोकेर पठाएको भए पनि संघीय सरकारबाट प्रदेशलाई प्राप्त हुने अनुदान रकम बढेर आएपछि आगामी बजेटको आकार बढ्ने प्रदेश सरकारले जनाएको छ।

नीति तथा योजना आयोगले पठाएको बजेटको सिलिङभन्दा थोरै आकार बढाएर बजेट सार्वजनिक हुने आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिमका सचिव जितेन्द्र बस्नेतले बताए। ‘प्रदेश सरकार गठनको पहिलो ५ वर्षे कार्यकाल सकिनै लागेको छ,’ उनले भने, ‘पहिलो ५ वर्षे कार्यकालको यो अन्तिम बजेट भएकाले अधिकांश पुराना कार्यक्रमहरुलाई सम्पन्न गर्ने गरी बजेट विनियोजन हुनेछ।’

केही थप नयाँ कार्यक्रमसहित मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम सरकारले अन्तिम बजेट सार्वजनिक गर्ने उनले बताए। आगामी आर्थिक वर्षको बजेट ३३ अर्बको हाराहारीमा आउने प्रदेश सरकारले बताएको छ। कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको हो। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको थियो। संघीय सरकारले प्रदेश सरकारले प्राप्त गर्दै आएको अनुदान रकम बढाएर पठाएपछि बजेटको आकार बढ्ने सचिव बस्नेतले जानकारी गराए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.