‘आत्मनिर्भर र समृद्ध सुदूरपश्चिम प्रदेश निर्माणको आधार’ अर्थमन्त्री रावल

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकता संसद बैठकमा पेस गरेका छन् ।

मन्त्री रावलले नागरिकको सुशासन विकास र समृद्धिको आकाङ्क्षालई पूरा गर्ने ध्येयले आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रममा सिद्धान्त र प्राथमिकता पेस गरिएको जानकारी दिए । उत्पादन एवं उत्पादकत्व अभिवृद्धि, पूर्वाधार निर्माण र सामाजिक विकासलाई ‘आत्मनिर्भर र समृद्ध सुदूरपश्चिम प्रदेश’ निर्माणको आधार मानी बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको छ । उपलब्ध स्रोत साधन, पूँजी र प्रविधि परिचालन गरी उत्पादन तथा उत्पादकत्व अभिवृद्धि र रोजगारी सिर्जनाका माध्यमबाट समृद्धि हासिल गर्ने ध्येयका साथ आगामी वर्षको बजेट तर्जुमा गर्न लागिएको मन्त्री रावलले जानकारी दिए ।

विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमले कृषि तथा पशुपन्छी क्षेत्रको विकासलाई प्राथमिकता दिइने भएको छ । यस्तै निजी क्षेत्रको समेत सहभागितामा पर्यटकीय गन्तव्यहरुको पहिचान, संरक्षण प्र्रवद्र्धन र विकास, सडक, पुल, खानेपानी, सरसफाइ, सिँचाइ, ऊर्जा, सहरी विकास जस्ता पूर्वाधार निर्माणका साथै स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिइने भएको छ ।

यसअघि बैठकको प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट दसौँ अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउनु हुँदै अधिवेशनलाई मर्यादित रुपमा सञ्चालन गर्नमा प्रदेशसभाका सदस्यको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

बैठकमा विशेष समयमा सत्तापक्ष नेपाली कांग्रेसका अम्बिकुमारी थापा, नेकपा (एकीकृत समाजवादी)का दुर्गाकुमारी कामी, नेकपा (माओवादी केन्द्र)का अक्कलबहादुर रावल र प्रतिपक्ष नेकपा (एमाले)का पठानसिंह बोहरा, राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका मालामतीकुमारी रानाथारूले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.