धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित देखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले दाेब्बर वढी मतको अग्रता लिएका छन् ।
६३ हजार ७१५ मत खसेको धनगढीमा ५६ हजार ८२६ मत गन्दा हमालले २४ हजार ५२९ मत प्राप्त गरी जित सुनिश्चित गेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७ हजार ३८६ मत ल्याएर तेस्रो स्थानमा छन् । यस्तै उपमेयरमा एमालेकी कन्दकला राना र माओवादी केन्द्रकी शान्ति अधिकारीबीच कडा टक्कर भइरहेको छ ।
‘हामी बनाउँछौं, हाम्रो धनगढी’ भन्ने मूल नारा लिएर हमालले धनगढी उपमहानगरपालिकाको नगप्रमुखका लागि उम्मेदवारी दर्ता गराएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि हमालले उपमहानगरपालिकाको नगरप्रमुख उम्मेदवारी दर्ता गराएका थिए ।
त्यति बेला हालले काँग्रेसका यिनै नृप वडसँग २ हजार ७०० मतान्तरले पराजित हुनु परेको थियो । यसपालिको निर्वाचनमा तिनै गठबन्धनका उम्मेदवार नृप वड स्वतन्त्र उम्मेदवार हमालद्धारा झण्डै दोब्बर बढी मतले हार्नु परेको तथ्यांकले देखाएको छ ।
यतिबेला स्वतन्त्र उम्मेदवार हमाललाई धनगढीबासीले लोकप्रिय मत दिएर नगप्रमुखमा विजयी गराएका छन् । यसपालि हमाललाई एमाले र नेपाली काँग्रेस समर्थकले ठूलो मात्रा भोट दिएर एक पटक धनगढीको नगरप्रमुख बनाउन चाहेको स्पष्ट देखिएको छ ।
१९ वडा रहेको धनगढीमा वडाध्यक्षमा काँग्रेस र एमालेको उम्मेदवार विजयी भइरहँदा पाँच दलिय गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारलाई भन्दा बढी मत हमाललाई गएको देखिन्छ । जसले गर्दा धनगढीबासीले स्वतन्त्र उम्मेदवारलाई भोट दिएर दलहरुलाई चुनौती दिएको धनगढीका स्थानीय बालकृष्ण जोशीले बताए । दलहरुभन्दा हमालले विगतमा गरेका कामहरुको मूल्यांकलन गरेर धनगढीबासीले मत जाहेर गरेको उनकाे भनाई छ ।
२०७४ सालको स्थानीय तहमा पराजय भोगेका हमाल निरन्तर समाज सेवामा क्रियाशिल रहँदै आएका थिए । उनले निःशुल्क शव बाहन, कपडा बैंक सञ्चालन गरेर समाज सेवाको कामलाई अघि बढाउँदै आए, जसका कारण हमाललाई यसपालि जित निकाल्न सहज भयो ।
धनगढीबासीले हमाललाई रोज्नुका विभिन्न कारणहरु छन् । उद्योग बाणिज्य संघ कैलालीको अध्यक्ष हुँदा हमालले सुन्दर सुदूरपश्चिम अभियान चलाएर देशभर सुदूरपश्चिमलाई चिनाएका थिए । सुदूरपश्चिममा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको पोष्टर बनाएर उनले सुन्दर सुदूरपश्चिम अभियान चलाएका थिए ।
उनै हमालले एकपैसे अभियान चलाएर धनगढी विमानस्थल कालोपत्रे गर्ने अभियान पनि चलाएका थिए । उनको अभियानमा धनगढीका रिक्सा चालक, मजदूरदेखि मालिक सम्मका व्यक्तिले हैसियत अनुसारको आर्थिक सहयोग गरेका थिए ।त्यति मात्र होइन् माओवादी सशस्त्र द्धन्द्धकालका बेला सुदूरपश्चिम यातायात प्रा.लि.को सिन्डिकेट तोड्न हमालले दिनेश ट्राभल्स सञ्चालन गरेर महिला र पुरुषलाई रोजगारी दिएका थिए ।
विगतमा गरेका कामहरुको मूल्यांकलन देखेर धनगढीबासीले उपमहानगरपालिकको समग्र विकासका लागि एक भोट गोपी दाईलाई भनेर खुलेआम मत जोहेर गरेका छन् । एक पटक हमाललाई धनगढीबासीले मत जाहेर गरेर नगर प्रमुखको पदमा त पुर्याएका छन् । त्यो जनमतको जनअपेंक्षा अनुसार हमालले धनगढी विकास गर्न सक्छन् कि सक्दैनन् । त्यसका लागि हमालको ५ वर्षे कार्यकालको हेर्न भने बाँकी नै छ ।