माओवादीले अछामकाे रामाराेशन गुमायाे, बैतडीकाे मेलौली जित्याे

धनगढी । नेकपा माओवादी केन्द्रले अछामकाे रामाराेशन गुमाएकाे छ । जनयुद्धकालदेखि नै माओवादी काे गढकारुपमा चिनिने अछामको रामारोशन गाउँपालिकामा कांग्रेसका मानबहादुर साउद ३१ सय २७ मत ल्याउँदै विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पहल साउदले २८ सय ९७ मत प्राप्त गरेका छन्। यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जनादेवी बुढा निर्वाचित भएकी छन्। बुढा तीन हजार २८ मत ल्याइ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी वसन्ती धामी साउदले २७ सय २८ मत प्राप्त गरेकी छन्। माओवादी सशस्त्र द्वन्द्वबाट निकै प्रभावित रामारोशनमा २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष–उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो।

उता बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन्। गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीका चन्दको इन्ट्री भएको हो। निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशसिंह नायकलाई पछि पार्दै चन्द मेयरमा विजयी भएका हुन्।

मेयरमा विजयी भएका चन्दले ३ हजार ९६ मत प्राप्त गरे भने उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशसिंह नायकले २ हजार ३७६ मत प्राप्त गरे। यो नगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेदवार प्रेमबहादुर चन्दले तेश्रो मत प्राप्त गरेका छन्।उपमेयरमा भने नेपाली कांग्रेसकी पार्वती बोहरा बिष्ट विजयी भएकी छिन्। उनले एमालेकी हेमन्ती नायकलाई पछि पार्दै उपमेयरमा जित निकालेकी हुन्। उपमेयरमा विजयी कांग्रेसकी बिष्टले २ हजार ९२७ मत ल्याउँदा एमालेकी नायकले २ हजार ४०८ मत ल्याइन्।

मेलौली नगरपालिकाका ९ वडा मध्ये ४ मा नेपाली कांग्रेस, तीनमा माओवादी केन्द्र र दुईमा एमालेले जित निकालेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.