धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपाली राजनीतिमा दुई ध्रुवीकरण देखा परेको बताएका छन् । कैलालीको मसुरियामा पार्टी प्रवेश अभियानमा जानेक्रममा बिहीबार धनगढी विमानस्थलमा पत्रकारसँग उनले प्रतिगमनकारीहरु बिचको एक र अग्रगामीबीच अर्को गठबन्धन रहेको बताएका हुन् ।
आफुहरुले अग्रगामीबीच गठबन्धन गरेर हाेमिएकाे भन्दै उनले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग गर्नुपर्ने बताए। कतिपय व्यक्तिले गठबन्धनले निर्वाचन सार्छ भन्ने हल्ला चलाएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, निर्वाचन हुन्छ कि हुन्न भन्ने दोधारमा नरहन उनले सबैलाई आग्रह गरे। ‘अब केही दोधार छैन होला? वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ’, उनले भने।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने उल्लेख गर्दै उनले लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेकाे पनि बताए। ‘कहिँकतै (पालिकामा) गठबन्धन भित्र त्यस्तो समस्या देखियो भने गठबन्धन दलहरुबीच पनि स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ हामीले बाँकी राखेका छौँ ।’ यद्यपि, ६ महानगरपालिका र ११ उप–महागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने उनले बताए ।
‘गठबन्धनभित्र तालमेलमा अधितम जोड गर्ने, जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल गरेका छौँ’, प्रचण्डले भने, ‘त्यही मर्म र भावनालाई आत्मसाथ गरेर अन्य स्थानीय तहमा पनप तालमेल र गठबन्धन हुन्छ भन्ने विश्वास छ ।’ उनले तालमेलका सवालमा अहिले कहिँ असन्तुष्टि भए पनि मनोनयन दर्तासम्म सबै एकजुट भएर अघि बढ्ने बताए ।