चुनावी गठबन्धन: धनगढी मेयरमा काँग्रेस, उपमेयरमा माओवादी केन्द्र

धनगढी । सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबन्डा टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा लगातार बसेको बैठक बुधवार निष्कर्षमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएका छन्।

गठबन्धनमा भएको सहमतिअनुसार धनगढी उपमहानगरपालिका भने कांग्रेसको भागमा परेको छ। यस्तै धनगढीको उपमेयर भने माओवादी केन्द्रको भागमा परेको छ। शीर्ष नेताहरुले उक्त सहमतिमा हस्ताक्षर गरेर तालमेल गर्दै चुनावमा जाने सहमति भएको हो। मेयर र उपमेयर कुन पार्टीले पाउने टुंगो लागे पनि सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा टिकटका लागि नेताहरुबीच हानथाप नै भइरहेको छ।

काँग्रेसबाट अहिलेका मेयर नृपबहादुर वड, नेता कृष्णबहादुर महरा, पूर्ण कुँवर, हरिश खड्का, यज्ञराज उपाध्याय, जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्टले मेयरका लागि आवेदन दिएका छन्। माओवादीको भागमा उपमेयर परे पनि उक्त पार्टीले मेयरमा शान्ति अधिकारीलाई र उपमेयरमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बल बहादुर ऐरलाई सिफारिस गरेकाे थियाे ।

गठबन्धनमा भएको सहमतिअनुसार नेपाली कांग्रेसले ३ महानगरमा प्रमुख र ३ महानगरमा उपप्रमुखमा उम्मेदवारी दिनेछ। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिकामा कांग्रेसले मेयरमा उम्मेदवारी दिने तय भएको हो। वीरगंज, भरतपुर र पोखरामा भने कांग्रेसले उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ। यस्तै, ७ वटा उपमहानगरमा कांग्रेसले प्रमुख पदमा उम्मेदवारी दिने भएको छ।

धरान, इटहरी, कलैया, बुटवल, तुलसिपुर,नेपालगन्ज र धनगढीमा प्रमुख पदमा उम्मेदवारी दिने भएको हो। ३ उपमहानगरमा कांग्रेसले उमपेयरमा उम्मेदवारी दिने छ। जितपुर सिमरा, घोराही र हेटौंडा उपमहानगरमा उपप्रमुख कांग्रेसले पाएको हो।नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा मेयर र ललितपुर महानगरमा उपमेयर पाएको छ। जितपुर सिमरा र घोराही उपमहानगरमा माओवादीले मेयरमा उम्मेदवारी दिने तय भएको छ। धरान र धनगढी उपमहानगरमा उपप्रमुख पदमा माओवादीले उम्मेदवारी दिने सहमति भएको हो।

यस्तै, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख पदमा उम्मेदवारी दिनेछ भने हेटौंडा उपमहानगरमा पनि एकीकृत समाजवादीकै उम्मेदवार चुनावमा उठेने भएका छन्। इटहरी, बुटवल र तुलसिपुर उपमहानगरको उपप्रमुखमा एकीकृत समाजवादीले उम्मेदवारी दिने तय भएको छ।जनता समाजवादी पार्टी जसपाले वीरगंज महानगरमा प्रमुख र विराटनगरमा उपप्रमुखको भाग पाएको छ।  जनकपुर उपमहानगरमा पनि जसपाले प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको छ। यस्तै कलैया र नेपालगन्जमा उपप्रमुखमा जसपाले उम्मेदवारी दिनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.