भूत उतार्न धामीझाँक्रीकाे कुटपीटबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

धनगढी । कञ्चनपुरको वेदकोट नगरपालिका मुसेपानीमा धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । टाउकाे दुख्याे भनेर झारफुक गराइरहेकी स्थानीय ४३ वर्षीया रञ्चुला साउदको मृत्यु भएको हो।

शुक्रबार महिलाको मृत्यु भएपछि प्रहरीले आज धामीझाँक्रीसहित ७ जनालाई पक्राउ गरेको छ। धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ। अहिलेसम्म प्रहरीले घटनाको अनुसन्धानका लागि भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने धामी धर्मानन्द भट्ट, भीमदत्त–१ बाराकुण्डा बस्ने नारायणदत्त भट्ट लगायत ७ जनालाई नियन्त्रणमा लिएको बताएको छ।

महिलाको मृत्यु उनकै जेठानी नाता पर्ने स्थानीय कमला साउदको घरमा भएको थियो। उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै महिलाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनााएको छ। मृतक महिला केही दिनदेखि बिरामी थिइन्। उनी धामीझाक्रीकहाँ झारफुक गराइरहेकी थिइन्। एकल महिला रहेकी मृतक साउदका दुई छोरी छन्। घटनाको थप अनुसन्धान जारी छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.