Dashain Suvakamana

दसैँ–तिहारलाई लक्षित गरी ‘फर्कि आउ ए परदेशी’ सार्वजनिक

डडेल्धुरा। धनगढीका कलाकार पुष्कर अवस्थीको मुख्य अभिनय रहेको ‘फर्कि आउ ए परदेशी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दसैँ–तिहारलाई लक्षित गरी तयार पारिएको उक्त गीत आइतबार पुष्कर अवस्थीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

विदेशमा रोजगारीका लागि गएको घरको एक्लो छोराले चाडपर्वमा परिवारसँगै बस्न नपाउँदाको पीडा र भावनात्मक छटपटीलाई गीतको म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ। परिवारबाट टाढा रहनुपर्दाको दुःख, घर फर्किने चाहना र चाडपर्वका बेला स्वदेश आउन नपाउँदाको पीडालाई भिडियोमा समेटिएको कलाकार अवस्थीले बताए।

पुख्यौली घर डडेल्धुराको अमरगढी नगरपालिका भएका अवस्थीले पछिल्ला केही वर्षदेखि कलाकारितालाई निरन्तरता दिँदै आएका छन्। उनले हालसम्म २० भन्दा बढी विभिन्न गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। देउडा, आधुनिक, मोडलिङलगायत विभिन्न विधाका गीतका भिडियोमा उनको अभिनय देख्न सकिन्छ।

अभिनयसँगै समाजमा विद्यमान विकृति, विसङ्गति र रूढिवादी परम्पराविरुद्ध जनचेतना फैलाउने उद्देश्यले गीतसङ्गीतमार्फत सन्देश दिने प्रयास गरिरहेको अवस्थीले बताए। आगामी दिनमा पनि समाजलाई सकारात्मक सन्देश दिने खालका गीत तथा म्युजिक भिडियोमा अभिनय गर्दै जाने उनको योजना छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.