Dashain Suvakamana

देउवा समूहमा संलग्न हुनेलाई कारबाही गर्ने गगन थापाको चेतावनी

Ajai

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वप्रधानमन्त्री एवं पूर्वसभापति शेरबहादुर देउवा समूहले सञ्चालन गरिरहेको समानान्तर गतिविधिमा संलग्न हुने पार्टीका नेता तथा जनप्रतिनिधिलाई कारबाही गरिने चेतावनी दिएका छन् । एउटै पार्टीभित्र दुई महाधिवेशन हुन नसक्ने भन्दै उनले पार्टीको आधिकारिक संरचनाबाहिर रहेर छुट्टै सांगठनिक गतिविधि सञ्चालन गर्ने कार्य स्वीकार्य नहुने बताएका हुन् ।

देउवा समूहले वडा, क्षेत्र, जिल्ला हुँदै प्रदेश अधिवेशनको प्रक्रिया अघि बढाएको बेला मंगलबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले पार्टी सदस्यता कायम राखेर अर्को दलको गतिविधिमा संलग्न हुन नमिल्नेमा जोड दिए । उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई देउवा समूहको समानान्तर महाधिवेशनमा सहभागी हुने विषयमा स्पष्ट निर्णय लिन आग्रह गरे ।

पार्टी सदस्यता त्यागेर अर्को राजनीतिक गतिविधिमा लाग्ने भए आफू निर्वाचित भएको पदबाट समेत राजीनामा दिनुपर्ने उनले बताए । “तपाईं राष्ट्रियसभामा हुनुहुन्छ, तपाईं प्रतिनिधिसभामा हुुनुहुन्छ, तपाईं प्रदेशसभामा हुनुहुन्छ, तपाईं स्थानीय तहको मेयर, उपमेयर, वडाध्यक्ष हुनुहुन्छ, म जान्दिनँ,” उनले भने, “हिजो राष्ट्रिय महाधिवेशनमा भाग लिनुभयो, लिनु भएन, मेरो बारेमा प्रेमका शब्द भन्नुभयो, आलोचना गर्नुभयो, केही फरक पर्दैन । तर, तपाईंले कांग्रेसको सदस्यता छाडेर अर्काे कुनै पार्टीको सदस्यता लिन जानुभयो भने, अहिलेको पदबाट राजीनामा गर्नुहोला, जुन सभामा हुनुहुन्छ, राजीनामा गर्नुहोला ।”

उनले पार्टीका नेता–कार्यकर्तालाई आधिकारिक संरचनाभित्रै रहेर राजनीतिक गतिविधि गर्न आग्रह गर्दै कांग्रेस सदस्यता कायम राख्ने वा नराख्ने विषयमा स्पष्ट हुनुपर्ने बताए । सभापति थापाले कांग्रेसको आधिकारिक संरचनाबाहिर हुने गतिविधिलाई पार्टीको महाधिवेशनका रूपमा स्वीकार गर्न नसकिने बताएका हुन् । उनले एउटै पार्टीका दुई अधिवेशन हुन नसक्ने उल्लेख गरे । पार्टीको नाम, झन्डा र चुनाव चिह्न प्रयोग गरेर छुट्टै सांगठनिक गतिविधि सञ्चालन गर्ने प्रवृत्तिप्रति कांग्रेस कठोर बन्ने उनले संकेत गरेका हुन् ।

विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टि समाधानका निम्ति विभिन्न चरणमा छलफल भइरहेको उनले जानकारी दिए । सहमति र सम्झौताको पनि सीमा हुने उनले बताए । देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । समूहले सातै प्रदेशमा अधिवेशन गर्ने तयारी गरेको छ ।

देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय समेत गरेको छ । यही निर्णय र समानान्तर अधिवेशनको प्रक्रियाका विषयमा संस्थापन पक्ष र देउवा समूहबीच विवाद चर्किएको हो । कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पनि न्यायिक प्रक्रियामा छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.