धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालले निःशुल्क उपचार गरेको छ। अस्पतालले भट्टको उपचारमा लागेको करिब नौ लाख रुपैयाँ मिनाहा गरेको हो।
आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका भट्टलाई सुरुमा महाकाली अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो। भट्टको अवस्था गम्भीर रहेकाले लामो समय उपचार गर्नुपर्ने र खर्चसमेत धेरै लाग्ने भएपछि परिवार चिन्तित बनेको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन स’मस्या भएपछि अस्पतालले निःशुल्क उप’चार गर्ने निर्णय गरेको हो।
भट्टको १५ दिन भेन्टिलेटर, २० दिन सघन उपचार कक्ष (आईसीयू) र त्यसपछि सामान्य शय्यामा राखेर उपचार गरिएको थियो। लामो उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको र उपचार सफल भएको अस्पतालले जनाएको छ। उपचारमा न्युरोसर्जन डा. हरि पौडेल, जिआई सर्जन डा. विनय तिमिल्सिना, अर्थोपेडिक सर्जन डा. विकास पाण्डे, डा. रितेश पोखरेल, एनेस्थेसियोलोजिस्ट डा. मोहन भट्ट र डा. ललित धामी संलग्न थिए।
माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले भट्टको पारिवारिक अवस्था अत्यन्त क’मजोर रहेकाले मा’नवीयताका आधारमा निःशुल्क उपचार गर्ने निर्णय गरिएको बताए । “अस्पतालमा आइसकेको बिरामीलाई हामीले पनि फिर्ता पठाउन मनले मानेन। त्यसैले निःशुल्क उपचार गर्ने निर्णय ग¥यौँ,” अध्यक्ष साउँदले भने ।
उनका अनुसार भट्टको उपचारमा हालसम्म करिब नौ लाख रुपैयाँ खर्च भएको छ, जुन अस्पतालले मिनाहा गरेको हो। गम्भीर अवस्थामा अस्पताल पुगेका भट्टको लामो उपचारपछि स्वास्थ्यमा सुधार आउनुका साथै आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई अस्पतालको सहयोगले टारेको छ। माया मेट्रो अस्पतालले गरेको यो सहयोगलाई स्वास्थ्य उपचारसँगै मानवीय सेवाको उदाहरणका रूपमा हेरिएको छ।