बुढानीलकण्ठबाट २२ केजी सुन बरामदबारे प्रहरीकाे भनाई

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले करिब २२ केजी सुन बरामद गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार बिहीबार बुढानीलकण्ठस्थित चपलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन बरामद गरेको हो। जोख्दा सुनको कुल परिमाण २१ किलो ७५० ग्राम रहेको छ ।

बरामद सुन एकैपटक नभएर थोरैथोरै परिमाणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो । भन्सार जाँचपास भएर सुन कसरी बाहिरियो भन्नेबारे फेरि गम्भीर प्रश्न उठेको छ । यसअघि पनि धेरैपटक सुन विमानस्थल हुँदै बाहिरिने गरेको थियो ।

चिनियाँ नागरिकलाई पक्राउ गरेर घरमा छापा मार्दा प्रहरीले कुल २१ केजी ७५० ग्राम सुन बरामद गर्न सफल भएको हो । केही दिनअघिदेखि निरन्तर निगरानी गरेर चलाइएको उक्त अपरेसनलाई ‘ब्राभो गल्फ’ नाम दिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए । उनले भने, ‘लेसिलो सुन ल्याएर यहाँ प्रशोधन गरी ढिक्का बनाएको देखिन्छ ।’

पक्राउ परेका तीन जनामध्ये सबैभन्दा पहिला आएका हान फेइले दैनिक ८ हजार रुपैयाँ तिर्ने गरी कार भाडामा लिएका थिए । उनीसँग इन्टरनेसनल ड्राइभिङ लाइसेन्स थियो । यस प्रकरणमा हालसम्म तीन जना चिनियाँ नागरिक मात्र पक्राउ परेका छन् । प्रहरीले हान फेइ, चोउ लोङछिन र ३७ वर्षका वाङ जियानझेनलाई पक्राउ गरेको हो । संलग्न अन्य आरोपीहरूमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले बताए ।

‘मुख्य बोस’ ले भनेअनुसार नै उनीहरूले काम गर्दै आएका थिए । झेन जियालेले विच्याटमार्फत उनीहरूलाई निर्देशन दिने गरेका थिए । एसएसपी खड्का भन्छन्, ‘झेनले सबै निर्देशन विच्याटमार्फत दिने गरेको देखिन्छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.